धरान । अमेरिकाको वेस्टर्न क्यान्सर इन्स्टिच्युटको सहयोगमा उपलव्ध एक सय ७१ थान अक्सिजन “कन्सनट्रेटर” मेसिन प्रदेश नम्बर १ का विभिन्न जिल्लाका कोभिड उपचार केन्द्र तथा स्वास्थ्य संस्थाहरुलाइ वितरण गरिएको छ ।
वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको आन्तरिक चिकित्सा विभागले एक कार्यक्रमको आयोजना गरी कोभिड उपचार केन्द्र तथा स्वास्थ्य संस्थाहरुलाई अक्सिजन मेसिन हस्तान्तरण गरेको हो ।
कोरोना संक्रमित बिरामीहरुको उपचार गरिरहेका विभिन्न जिल्लाका प्राथमिक स्वास्थ्य केन्द्र, स्वास्थ्य चौकी लगायतका कोभिड अस्पताललाइ प्राथकिमताका आधारमा छनौट गरी मेसिन हस्तान्तरण गरिएको डा. विवेक कट्टेलले जानकारी दिए । विकट र दुर्गम स्थानका कोरोनाका बिरामीहरु अक्सिजन अभावले मर्नु नपरोस भन्ने उद्धेश्यका साथ मेसिन वितरण गरिएको डा. कट््टेलको
भनाइ छ ।
प्रतिष्ठानका क्यान्सर रोग विशेषज्ञ डा. सोनिया दुलालको प्रयासमा वेष्टर्न क्यान्सर इन्स्टिच्युटकी डा. मार्टिनको सहयोगमा मेसिनहरु उपलव्ध भएका हुन ।
डा. दुलालले नेपालको अवस्था र अक्सिजन अभाव भईरहेको विषयमा जानकारी गराएपछि डा. मार्टिनले समन्वय गरेर पठाएका एक सय ७१थान अक्सिजन “कन्सनट्रेटर” मेसिनहरु प्राथमिकताका आधारमा वितरण गरिएको वताइन ।
कोरोना संक्रमितहरुलाई उपचारका लागि आवश्यक पर्ने अक्सिजन अभाव भईरहेको समयमा अक्सिजन “कन्सनट्रेटर” मेसिन उपलव्ध भएपछि उपचारमा सहज हुने इलामको माइ नगरपालिकाका स्वास्थ्य शाखाका कर्मचारीले विश्वास लिए ।
अक्सिजन मेसिनहरु संखुवासभा, भोजपुर, ओखलढुंगा, खोटाङ्ग, उदयपुर, धनकुटा, इलाम, सुनसरी लगायतका जिल्लाका कोभिड उपचार केन्द्र र स्वास्थ्य संस्थाहरुका लागि वितरण गरिएको विभागीय प्रमुख डा. रोबिन मास्केले जानकारी दिए ।
प्रत्येक संस्थाका लागि तीनदेखि पाँच थान मेसिन उपलब्ध गराइएको छ ।
त्यसै गरी प्रतिष्ठानलाइ दश थान मेसिन हस्तान्तरण गरिएको छ ।




















