सुनसरी । छोरीले लोकसेवा आयोगको परीक्षा उत्तीर्ण गरेको खबर सुन्दा परिवारमा खुसी छाउनुपर्ने हो । तर विराटनगरकी २४ वर्षीया ऋचा निरौलाको परिवारका लागि बिहीबार सार्वजनिक भएको लोकसेवाको नतिजा खुसीभन्दा बढी पीडादायी बन्यो । भोटेकोशीको विनाशकारी बाढीपछि सम्पर्कविहीन भएकी ऋचाले सब–इञ्जिनियर पदमा नाम निकालेकी छन्, तर उनी अहिले कहाँ छिन् भन्ने परिवारलाई अझै थाहा छैन ।

लोकसेवा आयोगले बिहीबार सार्वजनिक गरेको लिखित परीक्षाको नतिजामा ऋचाको नाम क्रम संख्या १२ मा परेको छ । छोरीले परीक्षा उत्तीर्ण गरेको खबर परिवारसम्म पुगे पनि उनको अवस्थाबारे कुनै जानकारी नहुँदा सफलताको खुसी परिवारले खुलेर मनाउन सकेको छैन ।

विराटनगर महानगरपालिका–३ निवासी ऋचा अपर त्रिशूली–१ जलविद्युत् आयोजनामा कार्यरत थिइन् । २१६ मेगावाट क्षमताको उक्त आयोजनामा उनले काम थालेको करिब ६ महिना मात्रै भएको थियो ।

१० भदौमा आएको भोटेकोशीको विनाशकारी बाढीपछि ऋचा सम्पर्कविहीन भएकी हुन् । त्यसयता परिवारले उनको अवस्था पत्ता लगाउन निरन्तर खोजी गरिरहेको भए पनि अहिलेसम्म कुनै ठोस जानकारी प्राप्त हुन सकेको छैन ।

परिवारका अनुसार मोबाइलको स्थान ट्र्याक गर्दा ऋचाको अन्तिम लोकेसन उत्तरगया गाउँपालिका–१ स्थित तिरु आधारभूत विद्यालय आसपाससम्म देखिएको थियो । त्यसपछि उनको मोबाइल अफ छ ।

बाढीपछि ऋचाको अवस्थाबारे परिवारले सम्बन्धित निकायसँग जानकारी माग्दै आए पनि अहिलेसम्म कुनै सरकारी निकायबाट उनको अवस्थाबारे स्पष्ट जवाफ प्राप्त हुन नसकेको परिवारको भनाइ छ ।

लोकसेवा आयोगको परीक्षामा नाम निकालेर नयाँ भविष्य निर्माण गर्ने सपना बोकेकी ऋचा अहिले कहाँ छिन् भन्ने प्रश्नले परिवारलाई झनै पीडामा पारेको छ । एकातिर छोरीले सरकारी सेवामा प्रवेशको ढोका खोलेको खबर छ भने अर्कोतिर उनको सकुशल अवस्थाको खबर पर्खिरहेका परिवारका आँखामा आशा र चिन्ता दुवै छ ।