इटहरी । सुनसरीको इटहरीमा प्रहरीले ठूलो परिमाणमा प्रतिबन्धित लागूऔषध गाँजा बरामद गरेको छ। इटहरी–धरान सडकखण्डअन्तर्गत चारकोसे जंगलको पानीट्यांकी क्षेत्रमा गरिएको चेकजाँचका क्रममा एम्बुलेन्सबाट ४५० किलो गाँजा फेला परेको हो।
इलाका प्रहरी कार्यालय इटहरीका अनुसार विशेष सूचनाका आधारमा मंगलबार राति करिब ११ः४० बजे प्रहरी टोलीले पानीट्यांकी क्षेत्रमा ब्यारेकेड राखेर सवारीसाधन जाँच गरिरहेको थियो। सोही क्रममा शंकास्पद अवस्थामा आएको एम्बुलेन्सलाई रोक्न खोज्दा चालकले प्रहरीलाई नै ठक्कर दिएर भाग्ने प्रयास गरेका थिए।

प्रहरीले पछ्याएपछि चालकले एम्बुलेन्स घटनास्थलमै छाडेर फरार भएको जनाएको छ। एम्बुलेन्स खानतलासी गर्दा ३० किलोका दरले १५ वटा पोकामा राखिएको ४५० किलो गाँजा बरामद भएको प्रहरीले जनाएको छ।
प्रहरी चौकी तरहराबाट खटिएको टोलीले जोखिम मोलेर एम्बुलेन्स नियन्त्रणमा लिन सफल भएको बताइएको छ। फरार चालकको खोजी भइरहेको छ भने बरामद गाँजा र एम्बुलेन्सका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।




















