इलाम | इलाममा प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजा बरामद गरेको छ। इलाम नगरपालिका–९ भञ्ज्याङस्थित मेची राजमार्गमा चेकजाँचका क्रममा प्रहरीले १ हजार ५ सय ४ किलो ६१० ग्राम गाँजा फेला पारेको हो।
प्रहरीका अनुसार असोज ६ गते साँझ प्रहरी चौकी गोलाखर्कबाट खटिएको गस्ती टोलीले ना.४ ख ८९९६ नम्बरको ट्रकलाई रोकेर जाँच गर्ने क्रममा गाँजा बरामद गरेको हो।
ट्रकमा विशेष रूपमा फल्स बटम बनाएर त्रिपालले छोपिएको अवस्थामा प्लास्टिकका ४१ वटा बोराभित्र गाँजा लुकाइएको पाइएको प्रहरीले जनाएको छ।
गाँजा बरामद भएपछि प्रहरीले ट्रकलाई नियन्त्रणमा लिएको छ। घटनामा संलग्न चालक भने हाल फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।




















