सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिका–१, मध्यहर्साइमा आज बेलुका करिब ५ः३० बजे गोली चलेको घटनामा एक युवक गम्भीर घाइते भएका छन्।
घाइते हुनेमा स्थानीय २७ वर्षीय निरज यादव रहेको बताइएको छ। उनको तिघ्रामा गोली लागेको प्रारम्भिक जानकारी प्राप्त भएको छ। घटनापछि तत्काल उद्धार गरी उपचारका लागि विराटनगरस्थित नोबेल अस्पताल लगिएको जनाइएको छ। घटनामा वास्तवमा के–कस्ता हतियार प्रयोग भए र गोली कसले चलाएको भन्ने विषयमा भने प्रहरीले आधिकारिक रूपमा पुष्टि गरिसकेको छैन।
घटनाको जानकारी प्राप्त भएपछि प्रहरी टोली घटनास्थलमा पुगेको छ। घटनाको कारण तथा संलग्न व्यक्तिहरूको पहिचानका विषयमा प्रहरीले अनुसन्धान अघि बढाएको बताइएको छ।
यसअघि सुनसरीका प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद अर्यालले मध्यहर्साइ क्षेत्रमा गोली चलेको सूचना प्राप्त भएपछि प्रहरी टोली घटनास्थलतर्फ परिचालन गरिएको जानकारी दिएका थिए।
घटना किन र कसरी भयो भन्ने विषयमा हालसम्म स्पष्ट विवरण सार्वजनिक भएको छैन। प्रहरीले घटनास्थलको अवस्था, प्रत्यक्षदर्शीको भनाइ तथा अन्य प्रमाणका आधारमा अनुसन्धान गरिरहेको जनाएको छ।
घटनाको थप विवरण प्रहरीको अनुसन्धानपछि खुल्नेछ।




















