१० लाखभन्दा बढी मूल्यका प्रतिबन्धित पटका बरामद, झुम्काबाट दुई जना पक्राउ
इटहरी । सुनसरीको रामधुनी नगरपालिका–१ झुम्काबाट प्रहरीले ठूलो परिमाणमा प्रतिबन्धित पटका बरामद गरेको छ। प्रहरीले पटकासहित दुई जनालाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान अघि बढाएको छ।
विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरी र इलाका प्रहरी कार्यालय पकलीबाट परिचालित संयुक्त टोलीले झुम्कास्थित ४८ वर्षीय धमु गोस्वामी र २७ वर्षीय सोनु गोस्वामीको घरमा खानतलासी गरेको थियो। सो क्रममा घरमा लुकाएर राखिएको विभिन्न प्रकारका पटका फेला परेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार बरामद पटकाको अनुमानित मूल्य १० लाख ३ हजार २४८ रुपैयाँ रहेको छ।
बरामद सामग्रीमा नागिन १५ कार्टुन, सुप्रिम डिलक्स फुलझरी ३०० वटा, सुपर हिट फुलझरी ३३ वटा, सानो फुलझरी १ हजार २७० वटा, पेन्टा फोकस १६५ वटा, स्पिनर सुपर डिलक्स (चक्की बम) ९२० वटा, म्याजिक मिक्की माउस पप ७५० वटा, बुलेट बम १ हजार ६० वटा र झिरझिरे पटका २५० वटा रहेका छन्।
पक्राउ परेका दुवै जनालाई बरामद पटकासहित जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखिएको छ। घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिएका छन्।




















