काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान गर्ने भएपछि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइएको छ। 

प्रधानमन्त्री शाह मंगलबार साँझ ७ बजे अमेरिकाको न्यूयोर्कतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ। आफ्नो अनुपस्थितिमा कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री वाग्लेलाई दिन प्रधानमन्त्री शाहले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेका थिए। सोही सिफारिसका आधारमा राष्ट्रपति पौडेलले वाग्लेलाई कार्यवाहक प्रधानमन्त्री तोकेका हुन्। 

प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघको महासभाको उच्चस्तरीय छलफलमा असोज ८ गते (सेप्टेम्बर २४) सम्बोधन गर्ने कार्यक्रम छ। परराष्ट्र मन्त्रालयका अनुसार उनले महासभाका क्रममा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता पनि गर्नेछन्। 

प्रधानमन्त्री शाह नेतृत्वको नेपाली प्रतिनिधिमण्डलले महासभामा नेपालको प्राथमिकता र समसामयिक विषय प्रस्तुत गर्नेछ। यस वर्षको महासभाको मुख्य विषय ‘Restoring Trust, Managing Transformation: A United Nations That Delivers for All’ रहेको छ। 

प्रधानमन्त्री शाहको असोज १० गते स्वदेश फर्किने तालिका रहेको बताइएको छ।