इटहरी । नेपाल सरकारले ‘रोजगार दशक’ अघि बढाउने सन्दर्भमा कोशी प्रदेशको इटहरीमा ‘सीप तथा रोजगार मेला–२०८३’ आयोजना गर्ने भएको छ। युवा, श्रम तथा रोजगार मन्त्रालयको आयोजनामा असोज १४ गतेदेखि २० गतेसम्म मेला सञ्चालन हुने भएको हो।

सीप र रोजगारी : साझा जिम्मेवारी’ भन्ने नाराका साथ आयोजना हुन लागेको मेलाको उद्देश्य उत्पादनशील रोजगारी सिर्जना, सीप विकास तथा श्रम बजारको मागअनुसार दक्ष जनशक्ति उत्पादन गर्नु रहेको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार मेलामा उद्योग, सेवा, कृषि, निर्माणलगायत विभिन्न १० विधामा ६५ वटा स्टल रहनेछन्। मेलाको मुख्य अवधारणा ‘माग → सीप तालिम → रोजगार’ लाई एउटै प्रणालीमा आबद्ध गर्ने रहेको छ। आवश्यकताका आधारमा मागअनुसार सीप तालिम सञ्चालन गरी रोजगारी सुनिश्चित गर्ने, उद्योगी–श्रमिक, शैक्षिक संस्था र सरकारबीचको समन्वय तथा साझेदारीलाई प्रभावकारी बनाउने लक्ष्य राखिएको छ।

कोशी प्रदेशमा आयोजना हुने मेलामा तीनै तहका सरकार, निजी क्षेत्र तथा विकास साझेदारको सहभागिता रहनेछ। विशेषगरी सुनसरी–मोरङ औद्योगिक करिडोरमा पर्ने विराटनगर महानगरपालिका, धरान उपमहानगरपालिका, इटहरी उपमहानगरपालिका, इनरुवा नगरपालिका, सुन्दरहरैँचा नगरपालिका, दुहबी नगरपालिका, कटहरी गाउँपालिका, बूढीगंगा गाउँपालिका र गढी गाउँपालिकालगायत स्थानीय तहको सहभागिता रहने मन्त्रालयले जनाएको छ।

त्यस्तै नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश, नेपाल उद्योग परिसंघ कोशी प्रदेश, नेपाल घरेलु तथा साना उद्योग महासंघ कोशी प्रदेश, उद्योग संगठन मोरङ, नेपाल ट्रेड युनियन महासंघलगायत निजी क्षेत्रका संघ–संस्थाको सहकार्यमा मेला सञ्चालन गरिनेछ।

मेलाका लागि तयार गरिएको jobfair.shramsansar.gov.np पोर्टलमार्फत कोशी प्रदेशका १३७ स्थानीय तहमा कार्यरत रोजगार संयोजकको सक्रिय सहभागितामा रोजगारदाता तथा रोजगारी खोज्ने व्यक्तिबीच प्रत्यक्ष सम्पर्क स्थापित गरी रोजगारीका अवसर सिर्जना गर्ने लक्ष्य राखिएको छ।

मन्त्रालयले रोजगारदाता, उद्योगी, व्यवसायी, श्रमिक, शैक्षिक तथा प्राविधिक संस्था, युवा र सम्बन्धित सरोकारवालालाई मेलामा सक्रिय सहभागिताका लागि आग्रह गरेको छ।

मन्त्रालयका प्रवक्ता हिमा आचार्यद्वारा जारी प्रेस विज्ञप्तिमा सीप, सीपअनुसार रोजगारी र रोजगारीमार्फत स्वदेशमै सम्मानजनक भविष्य निर्माण गर्ने उद्देश्यका साथ मेला आयोजना गर्न लागिएको उल्लेख गरिएको छ।