इटहरी । मोरङको शतिसाले फुटबल क्लबले पहिलो संस्करणको तालतलैया गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । इटहरी–२ स्थित बुढासुब्बा खेलमैदानमा आइतबार सम्पन्न फाइनलमा उदयपुरको फ्युजन फुटबल क्लबलाई ३–० गोलअन्तरले पराजित गर्दै शतिसालेले उपाधि आफ्नो नाममा गरेको हो ।

शतिसालेको जितमा विनोद राईले पहिलो हाफको ३४औँ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । दोस्रो हाफमा विकास परियार र साजन बर्देवाले थप एक–एक गोल गरेपछि शतिसालेले सहज जित निकाल्यो ।

उपाधिसँगै शतिसालेले ट्रफीका साथै नगद एक लाख ११ हजार १११ रुपैयाँ प्राप्त गरेको आयोजक तालतलैया फुटबल क्लबका सचिव रोशन भुजेलले जानकारी दिए । उपविजेता फ्युजन फुटबल क्लबले ट्रफीसहित ५५ हजार ५५५ रुपैयाँ प्राप्त गर्‍यो ।

फाइनल खेलमा फ्युजनका निश्चल मोक्तान म्यान अफ द म्याच घोषित भए । उनले नगद दुई हजार रुपैयाँसहित ट्रफी प्राप्त गरे ।

प्रतियोगितामा शतिसालेका विपुल मगर उत्कृष्ट गोलकिपर, सञ्जय श्रेष्ठ उत्कृष्ट डिफेन्डर, विकास परियार उत्कृष्ट मिडफिल्डर र विनोद राई उत्कृष्ट फरवार्ड घोषित भए । त्यस्तै तालतलैया फुटबल क्लबका आरोश चौधरी राइजिङ प्लेयर तथा शतिसालेका शुरेन मगर उत्कृष्ट प्रशिक्षक चुनिए ।

उत्कृष्ट घोषित सबैले जनही तीन हजार रुपैयाँ र ट्रफी प्राप्त गरे । प्रतियोगिताको उत्कृष्ट खेलाडी भने फ्युजन फुटबल क्लबका विशाल मगर घोषित भए । उनले नगद चार हजार ५०० रुपैयाँसहित ट्रफी पाए ।

असोज १ गतेदेखि सञ्चालन भएको प्रतियोगितामा नौ टोलीको सहभागिता रहेको थियो । प्रतियोगिताको समापन समारोहमा कोशी प्रदेशका सामाजिक विकासमन्त्री गीता तिम्सिनाले विजेता तथा उपविजेता टोलीका खेलाडीलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरे ।