इटहरी । रोजगारीको खोजीमा रहेका युवा तथा आफ्नो सीपलाई आम्दानीको स्रोतसँग जोड्न चाहनेहरूका लागि इटहरीमा सातदिने सीप तथा रोजगार मेला आयोजना हुने भएको छ । युवा, श्रम तथा रोजगार मन्त्रालयको आयोजनामा असोज १४ देखि २० गतेसम्म मेला सञ्चालन हुने भएको हो ।
मेलामा सहभागीले रोजगारदातासँग प्रत्यक्ष भेटघाट गर्नुका साथै विभिन्न सीपमूलक तालिम, रोजगारीका अवसर तथा उद्यमशीलतासम्बन्धी जानकारी लिन सक्नेछन् । मेलामा विभिन्न क्षेत्रका सीप र रोजगारीका अवसर समेटिएका ६५ वटा स्टल रहने आयोजकले जनाएको छ ।
डिजिटल तथा व्यवसायिक क्षेत्रतर्फ उद्यमशीलता विकास, आधारभूत लेखा, एआई तथा डिजिटल मार्केटिङसम्बन्धी सीप सिक्ने अवसर उपलब्ध हुनेछ । हस्पिटालिटी तथा सेवा क्षेत्रमा ग्राहक सेवा, बारिष्टा, कुक, वेटर र सञ्चार कलासम्बन्धी सीप प्रदान गरिनेछ ।
त्यस्तै, प्राविधिक तथा घरेलु सीपतर्फ सिटी सफारी तथा विद्युतीय सवारीसाधन मर्मत, एसी मर्मत, मेकअप तथा नेल आर्ट र अचार बनाउनेलगायतका विषयमा तालिम तथा जानकारी दिइनेछ ।
मेलामा सहभागीलाई बायोडाटा (सीभी) बनाउन सहयोग गर्नुका साथै प्रेरणादायी वक्ताबाट उत्प्रेरणात्मक प्रस्तुति सुन्ने अवसरसमेत रहनेछ ।
युवाको सीपलाई रोजगारी तथा उद्यमशीलतासँग जोड्दै स्थानीयस्तरमै अवसर सिर्जना गर्ने उद्देश्यले मेला आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।
‘सीप तपाईंको, अवसर हाम्रो र विकास हामी सबैको’ अवधारणासहित आयोजना हुने मेलाको मूल सन्देश ‘सीप र रोजगारीः साझा जिम्मेवारी’ रहेको छ । आयोजकले मेलामा सहभागी भई उपलब्ध अवसरको सदुपयोग गर्न युवालगायत इच्छुक सबैलाई आह्वान गरेको छ ।




















