इटहरी । मंसिर ४ गतेदेखि देशभर प्रदर्शनको तयारीमा रहेको नेपाली फिल्म ‘प्रतिवैरम्’ ले प्रचार अभियानलाई थप आक्रामक बनाउँदै नयाँ आइटम गीत सार्वजनिक गरेको छ । फिल्मको प्रतिक्षित गीत ‘माहोल गरम’ नेपालीसँगै हिन्दी, मैथिली र भोजपुरी भाषामा सार्वजनिक गरिएको हो ।
रोशन दासको कथा तथा निर्देशनमा बनेको फिल्मको गीतमा अभिनेत्री प्रियंका कार्कीलाई ‘बसन्ती’को आकर्षक अवतारमा प्रस्तुत गरिएको छ । प्रियंकासँगै नवीन श्रेष्ठ, रोनी यादव, नारायण बिक र प्रदीप ढकालले पनि गीतमा अभिनय गरेका छन् ।
गीतको भिडियोमा नृत्य र मनोरञ्जनसँगै फिल्मको कथा झल्काउने केही सस्पेन्स तथा एक्सन दृश्य समेटिएका छन् । भिडियोको अन्त्यतिर भने नवनायक सम्राट दासलाई एक्सन अवतारमा प्रस्तुत गरिएको छ ।
नेपाली संस्करण ‘माहोल गरम’मा हृतिका श्रेष्ठको स्वर, रोशन दासको शब्द तथा मनीष अधिकारीको संगीत रहेको छ । हिन्दी संस्करणलाई ‘जवानी कातिल’, मैथिलीलाई ‘जवानी सेहो कातिल’ र भोजपुरी संस्करणलाई ‘गाउँवा बा घायल’ नाम दिइएको छ ।

हिन्दी संस्करणमा शिवानी भगतको स्वर र लभ कर्णको शब्द रहेको छ भने मैथिली तथा भोजपुरी संस्करणमा समीक्षा चौधरीको स्वर र सुमन मण्डलको शब्द रहेको निर्माण पक्षले जनाएको छ ।
मधेशको सामाजिक परिवेशलाई आधार बनाउँदै अपराध, बदला र सम्बन्धको कथा प्रस्तुत गर्ने फिल्मबाट सम्राट दासले नायकका रूपमा डेब्यु गर्दैछन् । फिल्ममा बिरेन्द्र सिंह कुशवाहा, आलिशा बास्तोला, सुप्रज्ञा शर्मा, नारायण बिक, आशिष डिके र रमेश बुढाथोकीलगायत कलाकारको अभिनय छ ।
फिल्मको पटकथा तथा संवाद युवराज भट्टराईले लेखेका हुन् । गीतको छायांकन नितेश घतान र हरि ढकालले गरेका छन् भने कोरियोग्राफी सुरेन्द्र बसेलको छ । सम्पादन कबिर ओड र पंकज महतोले गरेका छन् भने पंकज महतोसँगै सम्पादनमा कबिर ओड र भीएफएक्समा समीर मियाँको काम रहेको छ ।
हर्ष कुमार यादव र सत्यराज चौलागाईं निर्माता रहेको ‘प्रतिवैरम्’ रेज इन्टरटेन्टमेन्टको प्रस्तुतिमा तयार भएको हो । आदर्श प्रोडक्सन, सिम्पल एड मिडिया र श्रीयान इन्टरटेन्टमेन्टसँगको सहकार्यमा निर्माण भएको फिल्मका कार्यकारी निर्माता बिक्की शाह हुन् ।
निर्माण पक्षका अनुसार फिल्म पनि गीतझैँ नेपाली, हिन्दी, मैथिली र भोजपुरी भाषामा एकसाथ प्रदर्शन हुनेछ । फिल्मको वितरण नेसनल सिनेमा ग्रुपले गर्नेछ ।




















