इटहरी । सौन्दर्य पेसामा आबद्ध महिलाको प्रतिभा, सीप र व्यावसायिक आत्मविश्वासलाई प्राथमिकतामा राखिएको ‘द फेस अफ ब्युटिसियन २०२६’ प्रतियोगिता फाइनल चरणमा पुगेको छ। कोशी प्रदेशमा पहिलोपटक फरक अवधारणासहित आयोजना गरिएको प्रतियोगिताको ट्यालेन्ट राउन्ड सम्पन्न भएसँगै २१ जना प्रतिस्पर्धी ग्रान्ड फिनालेको तयारीमा जुटेका छन्।
कुजु मोटर्सको आयोजना तथा सुजुकी मोटरसाइकल इटहरीको प्रस्तुतिमा सञ्चालन भइरहेको प्रतियोगिताको ट्यालेन्ट राउन्ड असोज १० गते शनिबार तरहरास्थित रुद्राक्ष पार्टी प्यालेसमा आयोजना गरिएको थियो। दिउँसो १ बजेदेखि भएको कार्यक्रममा फाइनलका लागि छनोट भएका प्रतिस्पर्धीले नृत्य, गायन, कविता वाचन तथा वक्तव्य प्रस्तुत गर्दै आफ्नो प्रतिभा देखाएका थिए।

ट्यालेन्ट राउन्डको मूल्याङ्कन डान्स कोरियोग्राफर तथा लक्ष्मी डान्स स्टुडियोकी सञ्चालिका लक्ष्मी समाल मगर, ब्युटिसियन तथा मार्टिना मेकअप स्टुडियोकी सञ्चालिका उर्वि श्रेष्ठ र हेयर स्टाइलिष्ट आस्विन लिम्बूले गरेका थिए। निर्णायकबाट प्राप्त अङ्कको नतिजा भने ग्रान्ड फिनालेकै दिन सार्वजनिक गरिने आयोजकले जनाएको छ। कार्यक्रम भूमिका रसाइलीले सञ्चालन गरेकी थिइन्।
प्रतियोगितालाई केवल सौन्दर्य प्रदर्शन र ताज जित्ने प्रतिस्पर्धामा सीमित नगरी सहभागीहरूको व्यावसायिक क्षमता विकासमा समेत जोड दिइएको आयोजकको भनाइ छ। प्रतियोगितामा छनोट भएका सहभागीलाई एश कलर मास्टरक्लास, वाटरप्रुफ मेकअप र मास्टर हेयरकटलगायतका प्राविधिक तालिम प्रदान गरिएको छ।

त्यसैगरी, सैलुन व्यवसाय विस्तारका लागि क्लाइन्ट म्यानेजमेन्ट तथा मार्केटिङसम्बन्धी ‘बिजनेस ग्रोथ क्लास’, प्रोफेसनल ग्रुमिङ, पोर्टफोलियो फोटोसुट, सामाजिक सञ्जालमा एक्सपोजर र प्रत्यक्ष मेन्टरसिपसमेत दिइरहेको आयोजकले जनाएको छ। आत्मविश्वास तथा टिमवर्क विकासका लागि हाइकिङ र टिम बिल्डिङ गतिविधिसमेत प्रतियोगिताको तयारीमा समेटिएको छ।
फाइनलमा अञ्जु ढकाल, अस्मिता चौधरी, अस्मिता मगर, बसन्ती गुरुङ, गंगा खवास, जिना श्रेष्ठ, केशिका ढकाल, लक्ष्मी पण्डित, लक्ष्मी मगर, ममता चौधरी, मेनुका मगर, निष्मा कँडेल, पुनम चौधरी, रिंकु शाह, रियुना खत्री, शिखा श्रेष्ठ, सोनिया तामाङ, सुनिता मिश्र, सुस्मिता मगर, सुष्मा चौधरी र भिमु कार्कीबीच ताजका लागि प्रतिस्पर्धा हुँदैछ।
प्रतियोगिताको विजेताले आकर्षक ताज र ट्रफीसहित १ लाख रुपैयाँभन्दा बढी मूल्य बराबरका पुरस्कार प्राप्त गर्नेछन्। साथै, मिडिया कभरेज, प्रोफेसनल फोटोसुट तथा प्रतिष्ठित ब्रान्डसँग सहकार्य गर्ने अवसरसमेत प्रदान गरिने आयोजकले जनाएको छ।
प्रतियोगिताका अध्यक्ष अमित राजवंशी, सीईओ तथा कार्यक्रम निर्देशक उर्मिला दर्लामी मगर रहेका छन्। अफिसियल कोरियोग्राफर उमेश खड्का, मिडिया कोअर्डिनेटर सुवास संकल्प श्रेष्ठ, अफिसियल मेकअप आर्टिस्ट मन्नु श्रेष्ठ तथा फोटो–भिडियोग्राफर इजन तामाङ प्रतियोगितासँग आबद्ध छन्।
अब प्रतियोगिताको मुख्य आकर्षणका रूपमा ग्रान्ड फिनाले असोज २४ गते इटहरीस्थित दुर्गा पार्टी प्यालेसमा आयोजना हुँदैछ। फिनाले नजिकिँदै गर्दा आयोजक टोलीसँगै प्रतिस्पर्धीहरू पनि अन्तिम तयारीलाई तीव्र बनाइरहेका छन्।




















