इटहरी । २०८३ असोज ९ गतेदेखि परेको अविरल वर्षाका कारण विभिन्न विद्युत उत्पादन, प्रसारण तथा वितरण संरचनामा क्षति पुगे पनि अधिकांश प्रभावित क्षेत्रमा विद्युत सेवा पुनः सञ्चालनमा आएको छ। नेपाल विद्युत प्राधिकरणका अनुसार वर्षा रोकिएसँगै सम्बन्धित वितरण केन्द्र र ग्रिड सञ्चालन महाशाखाको समन्वयमा प्राविधिक टोली परिचालन गरी विद्युत आपूर्ति सुचारु गरिएको हो।
वर्षाका कारण कुस्मा–दाना २२० केभी प्रसारण लाइनमा क्षति पुगेपछि सातवटा जलविद्युत आयोजना प्रभावित भएका छन्। ती आयोजनाको कुल क्षमता १९० मेगावाट रहेको छ। त्यस्तै, प्रणालीबाट बाहिर रहेका आठवटा आयोजनाको कुल क्षमता २३० मेगावाट रहेको प्राधिकरणले जनाएको छ।
प्राधिकरणका अनुसार सेती–मादी करिडोरका २६२ मेगावाट र मर्स्याङ्दी करिडोरका १९० मेगावाट क्षमताका जलविद्युत आयोजना पुनः सञ्चालनमा आइसकेका छन्। बाढीका कारण अवरुद्ध १४४ मेगावाट क्षमताको कालीगण्डकी जलविद्युत केन्द्र पनि सञ्चालनमा ल्याउने तयारी गरिएको छ।

यस्तै, कालीगण्डकी करिडोरको २२० केभी प्रसारण लाइनअन्तर्गत म्याग्दीको दाना–कुस्मा खण्डका टावर नम्बर २१ र २२ मा क्षति पुगेको प्रारम्भिक विवरण प्राप्त भएको छ। सडक अवरुद्ध भएकाले अन्य प्रभावित संरचनाको विस्तृत निरीक्षण हुन बाँकी रहेको प्राधिकरणले जनाएको छ।
वितरणतर्फ म्याग्दी, बागलुङ, तनहुँको झापुटार सबस्टेसन तथा रुकुम पूर्वमा विद्युत आपूर्ति सुचारु भइसकेको छ। मुस्ताङ, प्युठान र रोल्पामा असोज १० गते अपराह्नसम्म तथा मनाङमा भोलिसम्म विद्युत सेवा सञ्चालन गर्ने योजना रहेको छ।
यसैबीच, आगामी सुख्खायाममा विद्युत माग–आपूर्ति सन्तुलनका लागि आन्तरिक उत्पादनबाट १ हजार २१८ मेगावाट उपलब्ध हुने अनुमान गरिएको छ। थप १ हजार १५४ मेगावाट विद्युत विभिन्न नाकाबाट आयात गर्ने योजना रहेको छ। यसअनुसार सुख्खायाममा कुल २ हजार ३७२ मेगावाट विद्युत उपलब्ध हुने अनुमान गरिएको छ।
प्राधिकरणका अनुसार बाढीका कारण माथिल्लो त्रिशुली–३बी २२० केभी हब तथा विभिन्न जलविद्युत आयोजनामा क्षति पुग्दा करिब ४३० मेगावाट विद्युत प्रणालीबाट बाहिर रहेको छ। प्रभावित क्षेत्रमा प्राधिकरण र उसका सहायक कम्पनीहरूको प्रारम्भिक अनुमानअनुसार करिब ७४ अर्ब रुपैयाँ बराबरको क्षति पुगेको उल्लेख छ।




















