काठमाडौं । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदीय दलको नेताका लागि उम्मेदवारी आह्वान गरेको छ ।

दलको नेताका लागि समानुपातिक र प्रत्यक्ष उम्मेदवारहरुले ७ कात्तिकको साँझ ५ बजेसम्म आवेदन दिनसक्ने छन् । पार्टी विधानको धारा ७२(१) बमोजिम प्रारम्भीक निर्वाचन गर्न लागिएको रास्वपाका प्रवक्ता डा। मुकुल ढकालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

रास्वपाको विधानको धारा ७२(१) मा संघीय निर्वाचन अगावै पार्टीको तर्फबाट संघीय निर्वाचनका लागि समानुपातिक र प्रत्यक्षतर्फ छनोट भएका उम्मेदवारहरुमध्ये इच्छुकबीच दलको नेता छनोटका लागि निर्वाचन गर्ने उल्लेख छ । खसेको कुल मतको बहुमत ल्याउने उम्मेदवार दलको नेता हुने विधानको व्यवस्था छ ।

रास्वपाले अहिलेसम्म पार्टी सदस्यता वितरण गरेको छैन । पार्टीको वेबसाइट, मोबाइल एपमा दर्ता भएका र अफलाइन सबै गरेर २ लाख हारहारी व्यक्ति दर्ता भएको र उनीहरुले मत दिने छन् ।

रास्वपाले समानुपातिक पद्धतिको बन्द सूचीमा ११० जनाको नाम बुझाएको छ भने प्रत्यक्षतर्फ १३० क्षेत्रमा उम्मेदवार उठाएको छ । उनीहरुमध्ये प्रत्यक्षतर्फ को विजयी हुन्छन् भन्ने अनुमान गर्न गाह्रो छ भने समानुपातिकतर्फ सांसद हुन देशभर खसेको मतको न्यूनतम मत कटाउनुपर्ने हुन्छ ।

अहिलेको अवस्थामा रास्वपाबाट सांसद हुने वा नहुने टुंगो छैन । तर दलको नेता भने छान्ने प्रक्रिया सुरु भइसकेको छ । रास्वपाका प्रेस संयोजक गणेश कार्की भन्छन्, ‘हाम्रो सरकार बन्ने अवस्था आयो भने प्रधानमन्त्री को हुन्छ भनेर जनतालाई  थाहा होस् भनेर प्राइमरी गर्न खोजेका हौं, यो हाम्रो पार्टी विधानकै व्यवस्था हो ।’

यदि अहिले दलको नेता चुनिएका व्यक्ति प्रत्यक्ष चुनावमा पराजित भए वा समानुपातिकबाट छनोट नभए दलको नेता छनोटका लागि फेरि निर्वाचन गर्ने विधानमा उल्लेख छ ।

अहिलेसम्म दलका अध्यक्ष रवि लामिछाने मात्र संसदीय दलको नेताका आकांक्षी देखिएका छन् ।

हेर्नुहोस् राष्ट्रिय स्वतन्त्र पार्टीको सूचना