चितवन । चितवनको भरतपुर महानगरपालिकाको मेयरमा दोस्रो कार्यकालका लागि निर्वाचित माओवादी केन्द्रकी रेनु दाहालले सोचेभन्दा राम्रो मत प्राप्त भएको प्रतिक्रिया दिएकी छन् । कम्तिमा ३ हजार र बढीमा ७ हजारको मतान्तरले विजयी हुने सोचेकोमा त्योभन्दा बढी मत दिएर जनताले विगत पाँच वर्षको काम अनुमोदन गरेको दाहालले बताइन् ।
भरतपुर महानगरपालिकाको अन्तिम मतपरिणाम सार्वजनिक भएपछि उनले भनिन्, ‘जनताप्रति उत्तरदायी भएर काम गरेका थियौं । ३ देखि ७ हजारसम्मको मतान्तरले जितिन्छ होला भन्ने लागेको थियो ।’ दाहालले पहिलो पाँच वर्षमा गरेका कामको जनताले अनुमोदन गरेको पनि दावी गरिन्् । स्थानीय चुनावको केन्द्रमा र प्रतिपक्षको निशानामा हुँदा पनि जनताले काम हेरेको उनले बताइन् । ‘देशभरीको ध्यान भरतपुरमा थियो । सत्तापक्ष, विपक्ष सबैको ध्यान भरतपुरमा थियो । विपक्षीहरूको निशाना पनि थियो । जसरी पनि गठबन्धनको उम्मेदवारलाई हराउ भन्ने थियो,’ उनले थपिन््, ‘जनताले विगत पाँच वर्षको कामको अनुमोदन गरिदिनु भएको छ ।’
पुनः निर्वाचित हुनु परीक्षा पास गरेर आएको उनको भनाइ थियो । पहिलो कार्यकालका अधुरा कामलाई पूणर्ता दिने कुरा पहिलो प्राथमिकतामा पर्ने उनले बताइन् । अनुभवका आधारमा स्थानीय तह प्रमुखको रूपमा अन्तिम कार्यकाललाई थप सक्रियता र जिम्मेवारीका साथ पूरा गर्ने उनको प्रतिबद्धता थियो ।दोस्रो कार्यकालमा भरतपुरमा सञ्चालित राष्ट्रिय गौरवका आयोजना पर्ने उनको भनाइ थियो । तटबन्ध, क्रिकेट रंगशाला, सार्वजनिक सम्मेलन हल, ढल र फोहोर व्यवस्थापनलाई प्राथमिकता दिने उनको भनाइ थियो । एमाले उम्मेदवार विजय सुवेदीलाई १२ हजारभन्दा बढी मतले हराउँदै दाहाल भरतपुरको मेयरमा दोस्रो कार्यकालका लागि निर्वाचित भएकी हुन् ।
सत्तारूढ गठबन्धनबाट माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहाल १२ हजार ४ सय ४९ मतान्तरले विजयी भएकी हुन् । भरतपुरको मुख्य निर्वाचन अधिकृतको कार्यालयले औपचारिक रूपमा निर्वाचन परिणाम भने अझै सार्वजनिक गरेको छैन । दाहालले ५२ हजार ३० मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी एमालेका सुवेदीले ३९ हजार ५ सय ८१ मत ल्याए । यसैबीच सुवेदी नव निर्वाचित मेयर दाहाललाई बधाई समेत दिएका छन् ।




















