मोरङ : औपचारिक रुपमा एमाले प्रवेश गर्न लागेका मोरङस्थित रंगेली नगरपालिकाका प्रमुख दिलिप बगडिया (अग्रवाल) लाई माओवादी केन्द्रले कारबाही गरेको जनाएको छ ।
माओवादी केन्द्रका प्रदेश १ अध्यक्ष हर्कबहादुर नेम्वाङले एक विज्ञप्ति जारी गर्दै पार्टीले २०७८ साल फागुन १५ गतेदेखि लागू हुने गरी पार्टीको साधारण सदस्यसमेत नरहने गरी उनलाई निष्काशन गरेको जनाएका हुन् ।
‘पार्टी नगर कमिटी इन्चार्जको जिम्मेवारी समेत रहेका अग्रवाल पार्टीलाई क्षति पुग्ने गतिविधि गर्दै पार्टी र नगर प्रमुखको शक्तिलाई आफ्नो व्यवसायीक स्वार्थमा प्रयोग गर्न खोजेपछि सदस्यसमेत नरहने गरी उनलाई निष्काशन गरेको जनाएका हुन् ।
जिल्ला पार्टी कमिटी मोरङले २०७८ वैशाखमा निजलाई पार्टीको विधान धारा ५७ ९२० बमोजिम रंगेली नगर कमिटी इन्चार्जको जिम्मेवारीबाट निलम्बन गरी अनुशासनको स्पष्टीकरणसमेत सोधि पार्टी सदस्यता खारेजीको लागि प्रदेश कमिटीलाई सिफारिस गरिएको थियो ।
मेयर बगडियालाई पार्टीको चुनाव चिन्हबाट नगर प्रमुखमा निर्वाचित भएकोले नगर प्रमुख पदबाट निस्कासन गर्न पार्टीको केन्द्रीय कार्यालयमार्फत निर्वाचन आयोगलाई सिफारिस गरेको पनि माओवादी केन्द्रले जनाएको छ ।
बगडियासहित रंगेलीका माओवादी कार्यकर्ता नेकपा एमालेले भोलि सोही ठाउँमा आयोजना गरेको एक कार्यक्रमकाबीच पार्टी प्रवेशको तयारीमा रहेको बताइएको छ । उक्त कार्यक्रममा सहभागी हुन पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आउने कार्यक्रम छ ।




















