काठमाडौं । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको विधान बमोजिम नेताहरुलाई विभागको प्रमुख पदमा मनोनयन गरेका छन् । लिङ्देनले महामन्त्री राजेन्द्र गुरुङलाई संयोजित संगठन समन्वय विभाग प्रमुखमा मनोनयन गरेका छन् ।

यस्तै प्रवक्ता मोहन श्रेष्ठ प्रचार विभाग प्रमुखमा मनोनित हुँदा अर्का प्रवक्ता गोपाल दाहाल सम्पर्क समाज समन्वय विभाग प्रमुख बनेका छन् ।

यस्तै नवप्रवेशी ज्ञानेन्द्र शाहीलाई सुशासन विभाग, केन्द्रीय सदस्य आनन्द अधिकारीलाई प्रवास विभाग, लक्ष्मी संग्रौलालाई वाणिज्य क्षेत्र समन्वय विभाग र दमन बस्नेतलाई खेलकुद विभाग प्रमुखको जिम्मेवारी दिइएको छ ।

यस्तै राप्रपाका अध्यक्ष तथा प्रतिनिधि सभाका सदस्य राजेन्द्र लिङ्देनले आफ्नो पार्टी यथास्थितिमा एमसीसीको विपक्षमा रहेको बताएका छन्। लिङ्देन ठूला राजनीतिक दलका नेताहरुको केटाकेटीपन व्यवहारका कारण देशमा अस्थिरता निम्तिएको बताएका छन्।

प्रतिनिधि सभा बैठक स्थगित भएपछि संसद् भवनबाट बाहिरिने क्रममा उनले देश र जनतालाई विभाजित गर्ने खालको क्रियाकलापको पक्षमा राष्ट्रिय प्रजातन्त्र पार्टी सहभागी नहुने बताए।

लिङ्देनले मतदानमा सहभागी हुने वा नहुने भन्ने बारेमा मतदानको क्षण आएपछि टुंगो लगाउने बताए। तर, पक्षमा मतदान नगर्ने उनको भनाइ छ।

लिङ्देनले ठूला दलो आलोकाँचो व्यवहारका कारण परराष्ट्र सन्तुलन बिग्रिएको बताए। ‘राप्रपाले निरन्तर रुपमा भनिराखेको छ, खासगरी ठूला राजनीतिक दलहरुको केटाकेटीपनका कारण, आलोकाँचो व्यवहारका कारण परराष्ट्र नीतिमा सन्तुलन बिग्रियो। उनीहरुको केटाकेटी क्रियाकलापका कारण शक्ति राष्ट्रहरुको रणनीतिक प्रतिस्पर्धा स्थलका रुपमा देश परिणत भएको छ’, उनले भने।