काठमाडौं : कांग्रेसका महामन्त्री गगन थापाले सत्ता गठबन्धन धरापमा परिसकेको र यो अब लामो समय नजाने बताउनुभएको छ ।  सरकारमै रहेका माओवादी र एकीकृत समाजवादीले सरकारले पेस गरेको सम्झौतालाई साथ नदिनु भनेको गठबन्धन लगभग टुटिसकेको रूपमा बुझ्दा हुने थापाले बताउनुभयो ।


अमेरिकी सहायता परियोजना एमसीसी संसदबाट अनुमोदन गर्न नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीले साथ नदिने भएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा एमालेसँगको छलफल तीव्र पार्नुभएको उसले जानकारी दिनुभएको छ ।


एमसीसीकै कारण आज बिहीवारको संसद् बैठक अन्तिम समयमा स्थगित भएपछि संसद् भवन नयाँ बानेश्वरमै प्रधानमन्त्री देउवाले ओलीसँग अरू नेतासहित संयुक्त र एक्ला एक्लै छलफल गर्नुभएको हो । दिउँसो २ बजे सुरु भएको छलफल बेलुकी झन्डै ५ पाँच बजेसम्म चलेको छ । सुरुका दुई घण्टा प्रधानमन्त्री देउवाले महामन्त्री गगन थापा र ज्ञानेन्द्रबहादुर कार्कीलाई सँगै राखेर एमाले अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र नेता सुवास नेम्वाङसँग छलफल गर्नुभएको थियो भने एक घण्टा ओलीसँग एक्ला एक्लै छलफल गर्नुभएको थियो ।


प्रतिनिधि सभा टेबल भएको एमसीसीको पक्षमा मतदान नगर्ने माओवादी र एकीकृत समाजवादीको निर्णयपछि देउवाले बरु गठबन्धन भत्कियोस् तर एमसीसी पास गरेरै छाड्ने अडान लिनुभएको छ । पछिल्ला केही दिनका सङ्केत हेर्दा एमसीसीकै कारण सत्ता गठबन्धन टुट्न सक्ने आँकलन भइरहेको छ ।