इटहरी । कोशी प्रदेशलाई प्रविधिमैत्री प्रदेश बनाउने उद्देश्यसहित सुनसरी जिल्लाको इनरुवा नगरपालिकामा युथ आइटी कम्पनीले आफ्नो पहिलो शाखा कार्यालय स्थापना गरेको छ। युथ आइटी कम्पनीको मुख्य कार्यालय इटहरी उपमहानगरपालिका–९ मा अवस्थित छ, र इनरुवा शाखा कम्पनीको पहिलो क्षेत्रीय विस्तारको रूपमा स्थापित गरिएको हो।
शाखा कार्यालयको भव्य उद्घाटन समारोह इनरुवा बजारको केन्द्रविन्दुमा सम्पन्न भएको हो, जसमा स्थानीय बुद्धिजीवी, जनप्रतिनिधि, पत्रकार, सामाजिक अभियन्ता, युवाहरू तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरूको उत्साहजनक उपस्थिति रहेको थियो। कार्यक्रमलाई उत्सवमय बनाउन सांस्कृतिक प्रस्तुतीहरू समेत गरिएको थियो।
उक्त शाखाको सञ्चालनको नेतृत्व इनरुवाका कृयाशील युवा आयुष सापकोटाले गरेका छन्। उनले कार्यक्रममा जानकारी दिँदै भने, “इनरुवामा प्रविधिमा रुचि राख्ने युवाहरूको संख्या उल्लेख्य छ, तर सिकाइको व्यावसायिक तथा प्रयोगात्मक अवसर अभाव रहेको थियो। अब युथ आइटीको माध्यमबाट इनरुवा र आसपासका युवाहरूले उच्च गुणस्तरीय सूचना प्रविधि सम्बन्धी सेवा र तालिम प्राप्त गर्नेछन्।” उनका अनुसार शाखामार्फत सरकारी तथा गैरसरकारी निकायहरूलाई आवश्यक पर्ने सबै प्रकारका सूचना प्रविधि (IT) सेवा—जस्तै वेबसाइट निर्माण, सफ्टवेयर विकास, डिजिटल मार्केटिङ, डाटा म्यानेजमेन्ट, साइबर सुरक्षाजस्ता सेवा—प्रदान गरिनेछ। साथै, कम्प्युटर बेसिकदेखि लिएर उच्चस्तरीय कोडिङ, नेटवर्किङ, ग्राफिक्स डिजाइन, एनिमेसन, र एआई प्रविधिसम्मका तालिमहरू सञ्चालन गरिने जनाइएको छ।
शाखा उद्घाटन कार्यक्रममा युथ आइटी कम्पनीका कार्यकारी निर्देशक रोहीतराज दाहाल, प्रबन्ध निर्देशक मुकेश खड्का, इनरुवा शाखा संयोजक प्रयास खतिवडा, समाजसेवी बद्री पोख्रेल, उद्योगी सुवास श्रेष्ठ, तथा स्थानीय राजनीतिक दलका प्रतिनिधिहरूको समेत उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै कार्यकारी निर्देशक रोहीतराज दाहालले भने, “प्रविधि अब केवल सुविधा होइन, आवश्यकताको विषय हो।
युथ आइटीले प्रदेश १ लाई ‘डिजिटल हब’ बनाउने ठूलो सपना देखेको छ र त्यसमा इनरुवा शाखा एउटा महत्वपूर्ण इँटा हो।” युवाहरूलाई देशभित्रै प्रविधिमा दक्ष बनाउँदै रोजगारी सिर्जना गर्नु र IT for Change को नारालाई मूर्त रूप दिनु युथ आइटीको दीर्घकालीन उद्देश्य हो। युथ आइटीले आगामी दिनमा प्रदेशका अन्य स्थानीय तहमा समेत शाखा विस्तार गर्ने योजना बनाएको छ। इनरुवा शाखा कार्यालयको औपचारिक उद्घाटनसँगै स्थानीय बासिन्दा तथा विद्यार्थीहरूले प्राविधिक सीपमा आधारित भविष्य निर्माणको आशा बोकेका छन्। डिजिटल नेपाल निर्माणको दिशामा यो एउटा सशक्त र प्रेरणादायी प्रयासका रूपमा हेरिएको छ।




















