9ee74759-4f29-43ee-b294-37e8ac3dabf6पवन सिग्देल 

इटहरी । बालबालिकाभित्र लुकेको प्रतिभा, आत्मविश्वास र बौद्धिक क्षमतालाई उजागर गर्ने उद्देश्यसहित आयोजना गरिएको ‘जुनियर फेस अफ सुनसरी’को दोस्रो संस्करणअन्तर्गत ट्यालेन्ट राउन्ड सम्पन्न भएको छ। 

शनिबार इटहरीस्थित लायन्स क्लबको हलमा आयोजित ट्यालेन्ट राउन्डमा इटहरी, झुम्का, इनरुवा, कालाबन्जारलगायत विभिन्न स्थानबाट सहभागी ४२ जना बालबालिकाले आफ्ना प्रतिभा प्रस्तुत गरेका थिए।

प्रतियोगितामा सहभागी बालबालिकाले नृत्य, गायन तथा वक्तृत्वकलामार्फत आफ्नो क्षमता प्रस्तुत गरे। उनीहरूको प्रस्तुति हेर्न पुगेका दर्शकसँगै निर्णायक मण्डल पनि बालप्रतिभाबाट प्रभावित भएका थिए।

प्रतियोगिताको प्रतिभा मूल्यांकनका लागि ‘फेस अफ नेपाल’का नेसनल डाइरेक्टर तथा अभिनेत्री मेनुका माझी, ‘मिसेस पूर्वेली आइकन २०२५’ दोस्रो संस्करणकी विजेता मेघा खड्का र मोडल तथा ‘मिस्टर आइकन वर्ल्ड नेपाल २०१८’का विजेता क्षितिज पोखरेल निर्णायकका रूपमा उपस्थित थिए।

आयोजक एल एण्ड सी मोडल एजेन्सी प्रा. लि.का अनुसार प्रतियोगितालाई केवल सौन्दर्य प्रदर्शनमा सीमित नराखी बालबालिकाको व्यक्तित्व विकास र आत्मविश्वास अभिवृद्धिको माध्यम बनाउने प्रयास गरिएको छ। सहभागीहरूलाई व्यक्तित्व विकास, वक्तृत्वकला तथा योगासम्बन्धी प्रशिक्षणसमेत दिइरहेको आयोजकले जनाएको छ।

त्यसैगरी, बालबालिकाको सुरक्षासँग प्रत्यक्ष जोडिएको ‘गुड टच–ब्याड टच’ विषयमा समेत सचेतनामूलक प्रशिक्षण प्रदान गरिँदै आएको छ। आयोजकका अनुसार यस्ता गतिविधिले बालबालिकालाई आफ्ना अधिकार, सुरक्षा र व्यक्तिगत सीमाबारे सचेत बनाउन सहयोग गर्नेछ।

प्रतियोगिताको विजेताले नगद ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। फर्स्ट रनरअपलाई साइकल तथा सेकेन्ड रनरअपलाई ट्याब्लेट प्रदान गरिने आयोजकले जनाएको छ।

कोशी प्रदेशमा फेसन तथा मोडलिङसम्बन्धी विभिन्न प्रतियोगिता आयोजना गर्दै आएको एल एण्ड सी मोडल एजेन्सीले यसअघि ‘सुनसरी लिटल प्रिन्स एण्ड एन्जल’, ‘मिस धरान सुपर आइकन’ र ‘फेस अफ पूर्व’ लगायतका कार्यक्रम आयोजना गरिसकेको छ।

प्रतियोगिताको प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपक गिरी रहेका छन् भने इभेन्ट म्यानेजरको जिम्मेवारी सूर्य गिरीले सम्हालेका छन्। विनोद सुवेदी कोअर्डिनेटर, सुवास संकल्प श्रेष्ठ मिडिया कोअर्डिनेटर, मन्सु बस्नेत मेकअप आर्टिस्ट, मनिका खनाल इभेन्ट सपोर्टर, कृषा गिरी ड्रेस डिजाइनर तथा ईजन तामाङ फोटोग्राफरका रूपमा आबद्ध छन्।

प्रतियोगी बालबालिकालाई सुनिता बस्नेत र सुभेक्क्षा मगरले असिस्टेन्ट कोरियोग्राफरका रूपमा प्रशिक्षण दिइरहेका छन्। प्रतियोगिताको फोटोग्राफी तथा भिडियोग्राफी पार्टनर परीकला फोटोग्राफी र मिडिया पार्टनर परीकला न्युज रहेका छन्।