इटहरी । इटहरी–२०, तरहरास्थित पुरवाञ्चल सेकेन्डरी बोर्डिङ स्कुल एण्ड कलेजले कक्षा ११ मा नयाँ भर्ना भएका विद्यार्थीलाई भव्य कार्यक्रमबीच स्वागत गरेको छ। इटहरीको दुर्गा पार्टी प्यालेसमा आयोजित ‘वेलकम प्रोग्राम–२०८३’ मा नयाँ विद्यार्थीलाई स्वागत गर्नुका साथै उनीहरूलाई विद्यालयको शैक्षिक वातावरण, अनुशासन, अध्ययन–अध्यापन तथा अतिरिक्त क्रियाकलापबारे जानकारी गराइएको थियो। कार्यक्रममा शिक्षक, कर्मचारी तथा विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो।
कार्यक्रममा विद्यार्थीहरूले नाचगान, सांगीतिक प्रस्तुति तथा विभिन्न मनोरञ्जनात्मक कार्यक्रम प्रस्तुत गरेका थिए। नयाँ विद्यार्थीहरू पनि कार्यक्रममा उत्साहपूर्वक सहभागी भई गीत–संगीत र नृत्यमा रमाएका थिए। नाचगान तथा मनोरञ्जनात्मक प्रस्तुतिले कार्यक्रमलाई थप आकर्षक र उल्लासमय बनाएको थियो।
विद्यालयका तर्फबाट विद्यार्थीहरूलाई नयाँ शैक्षिक यात्राका लागि शुभकामना दिँदै अध्ययनसँगै अनुशासन, सकारात्मक सोच, सिर्जनशीलता र नेतृत्व क्षमताको विकासमा ध्यान दिन आग्रह गरिएको थियो। विद्यालयले विद्यार्थीको ज्ञान, सकारात्मक दृष्टिकोण, नैतिकता, सीप तथा व्यक्तित्व विकासलाई प्राथमिकतामा राख्दै आएको जनाएको छ।
विद्यालयका प्रधानाध्यापक सौधन राईले कक्षा ११ मा भर्ना भएका विद्यार्थीलाई स्वागत गर्दै नयाँ शैक्षिeक यात्रालाई उपलब्धिमूलक बनाउन अनुशासन, मेहनत र सकारात्मक सोच आवश्यक रहेको बताए। उनले विद्यार्थीलाई पढाइसँगै आफ्नो रुचि र प्रतिभा पहिचान गरी अतिरिक्त क्रियाकलापमा समेत सक्रिय हुन आग्रह गरे। विद्यालयले विद्यार्थीको शैक्षिक विकाससँगै असल संस्कार, नैतिकता, सीप र नेतृत्व क्षमता विकासमा निरन्तर जोड दिँदै आएको उनको भनाइ थियो।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भोला काजी बस्नेतले विद्यार्थीलाई आफ्नो लक्ष्यप्रति दृढ भएर अघि बढ्न प्रेरित गरे। उनले जीवनमा सफलता प्राप्त गर्न निरन्तर मेहनत, अनुशासन र सकारात्मक सोच आवश्यक रहेको बताए। विद्यार्थीले आफ्नो क्षमता र रुचिलाई पहिचान गर्दै स्पष्ट लक्ष्य निर्धारण गरेर त्यसलाई प्राप्त गर्न निरन्तर प्रयास गर्नुपर्नेमा उनले जोड दिए।
कक्षा ११ मा नयाँ प्रवेश गरेका विद्यार्थीहरूले पनि विद्यालयको वातावरण तथा स्वागत कार्यक्रमले आफूहरूलाई उत्साहित बनाएको प्रतिक्रिया दिएका छन्। नयाँ साथीहरूसँग परिचित हुने तथा शिक्षकहरूसँग नजिकबाट घुलमिल हुने अवसरसमेत कार्यक्रमले प्रदान गरेको विद्यार्थीहरूको भनाइ छ।
वि.सं. २०५१ सालमा स्थापना भएको पुरवाञ्चल माध्यमिक विद्यालय इटहरी–२०, तरहरा, सुनसरीमा सञ्चालन हुँदै आएको छ। विद्यालयले औपचारिक शिक्षासँगै विद्यार्थीको प्रतिभा प्रस्फुटन र अतिरिक्त क्रियाकलापलाई समेत प्राथमिकता दिँदै आएको जनाएको छ।




















