
वर्षौंदेखि रंगमञ्च, सर्ट फिल्म, म्युजिक भिडियो र टेलिभिजनमा सक्रिय बस्न्यातका लागि यो फिल्म अभिनय यात्राको महत्त्वपूर्ण उपलब्धि मानिएको छ। उनी पहिलो पटक नेपाली फिचर फिल्ममा मुख्य भूमिकामा देखिन लागेका हुन्।
जीवनको यहाँसम्मको यात्रा भने सहज थिएन। आर्थिक अभावका कारण काठमाडौँमा कोठाभाडासमेत तिर्न कठिनाइ भोगेका उनले पढाइ र अभिनयलाई सँगै अघि बढाउन रातिको समयमा ‘पठाओ फुड डेलिभरी’ मा काम गरे। अनेक चुनौतीका बीच पनि अभिनयप्रतिको उनको लगाव कहिल्यै कमजोर भएन।
सङ्घर्षकै क्रममा उनले अभिनेता अनमोल केसी अभिनीत फिल्म ‘फर्की फर्की’, ‘सानो संसार’ तथा गायक सुजन चापागाईंको चर्चित गीत ‘फुलथुङ्गे रानी’ मा ब्याकग्राउन्ड आर्टिस्टका रूपमा काम गरे। भीडमा उभिने कलाकारबाट मुख्य पात्रसम्मको उनको यात्रा निरन्तर मेहनत र धैर्यको परिणाम बनेको छ।
बस्न्यातले १२ वर्षको उमेरदेखि इटहरीस्थित कलालय इटहरी मार्फत रंगमञ्च यात्रा सुरु गरेका थिए। त्यसयता उनले दर्जनौँ नाटक, २०० भन्दा बढी सर्ट फिल्म, म्युजिक भिडियो तथा टेलिभिजन विज्ञापनमा अभिनय गरिसकेका छन्। यसअघि उनी फिल्म ‘रमिताको पिरती’ मा छोटो भूमिकामा देखिएका थिए भने हिमालयन टेलिभिजनको चर्चित कार्यक्रम ‘कठघरा’ मा ‘रक्षक’ पात्रबाट पनि दर्शकमाझ परिचित छन्।
सामाजिक सञ्जाल फेसबुक, इन्स्टाग्राम र टिकटकमा उनका अभिनयप्रधान भिडियोले पनि राम्रो लोकप्रियता कमाएका छन्। अभिनयलाई पेशागत रूपमा अघि बढाउने उद्देश्यसहित उनले ओस्कार अन्तर्राष्ट्रिय कलेजबाट अभिनय विषयमा स्नातक अध्ययन पूरा गरेका छन् र हाल सोही विषयमा स्नातकोत्तर अध्ययनको तयारी गरिरहेका छन्।
स्काईफल पिक्चर्सको ब्यानरमा निर्माण हुन लागेको फिल्म ‘ल्याङ्ग ल्याङ्ग’ मा भोलानाथ कटवालको लगानी रहनेछ। फिल्मको कथा निर्देशक बलिराम चौहान र उपाश्री खतिवडाले संयुक्त रूपमा तयार पारेका हुन्। यसअघि कलाकार रिहान गिरी र सन्तोष बानियाँ अनुबन्धित भइसकेका छन् भने मुख्य अभिनेत्रीको छनोट प्रक्रिया जारी रहेको निर्देशक चौहानले जानकारी दिएका छन्।
निर्माण टिमका अनुसार लामो समयको अनुभव, अभिनयप्रतिको समर्पण र निरन्तरको मेहनतका कारण बस्न्यात ‘ल्याङ्ग ल्याङ्ग’ मार्फत नेपाली चलचित्र क्षेत्रमा नयाँ पहिचान स्थापित गर्ने अपेक्षा गरिएको छ। फिल्मको छायाङ्कन छिट्टै सुरु हुने तयारी रहेको निर्माण पक्षले जनाएको छ




















