पवन सिग्देल
इटहरी | साउन २०, २०८३
इटहरी — विजय मल्लको चर्चित साहित्यिक कृति ‘कोही कि बरबाद होस्’ बाट प्रेरित नेपाली चलचित्र ‘कमला मिस’ को राजधानी काठमाडौंस्थित जय नेपाल हलमा भव्य प्रिमियर सम्पन्न भएको छ। चलचित्रले बालमनोविज्ञान, मातृत्व, शिक्षा र मानवीय संवेदनालाई उठाएको विषयवस्तुले प्रिमियरमा उपस्थित दर्शकको मन छोएको छ।
प्रिमियरमा सहभागी चलचित्रकर्मी, शिक्षाविद्, विद्यालयका प्रिन्सिपल, शिक्षक, सामाजिक व्यक्तित्व तथा सञ्चारकर्मीहरूले चलचित्रलाई मनोरञ्जनसँगै समाजलाई सोच्न बाध्य बनाउने सशक्त सिर्जनाको रूपमा व्याख्या गरेका छन्।
चलचित्रले आमाको माया र स्नेहबाट टाढा रहेको बालमनको पीडा, मायाको खोजी, स्नेह प्राप्तिपछि आउने सकारात्मक परिवर्तन तथा एउटी महिलाको जीवन संघर्षलाई संवेदनशील ढंगले प्रस्तुत गरेको दर्शकहरूको प्रतिक्रिया थियो। पारिवारिक सम्बन्ध, शिक्षक–विद्यार्थीबीचको आत्मीयता, अभिभावकको जिम्मेवारी र सामाजिक उत्तरदायित्वलाई चलचित्रले भावनात्मक रूपमा चित्रण गरेको उनीहरूको भनाइ छ।
विशेषगरी शिक्षाक्षेत्रसँग आबद्ध व्यक्तित्वहरूले ‘कमला मिस’ हरेक शिक्षक, अभिभावक र विद्यार्थीले एकपटक अवश्य हेर्नुपर्ने चलचित्र भएको बताएका छन्। उनीहरूका अनुसार चलचित्रले बालमनोविज्ञान र शिक्षाको वास्तविक पक्षलाई प्रभावकारी रूपमा प्रस्तुत गरेको छ।
वरिष्ठ कलाकार निर शाह को निर्देशनमा बनेको चलचित्रलाई साहित्य, शिक्षा र समाजबीचको सम्बन्धलाई पर्दामा उतार्ने अर्थपूर्ण प्रयासका रूपमा समेत हेरिएको छ। प्रिमियरमा अधिकांश दर्शक चलचित्र हेरेपछि भावुक बनेका थिए भने धेरैले यसले जीवनका गम्भीर पक्षबारे सोच्न बाध्य बनाएको प्रतिक्रिया दिएका छन्।
चलचित्रमा निर शाहसँगै रमेश बुढाथोकी, वासना तिमिल्सिना, शिवम् सराफ क्षेत्री, आरभ दाहाल, भावना मगर, कृष्ण मुरारी ढुंगेल, सुशान्त कुमार श्रेष्ठ, जयन्त रेग्मी, सुरेश थापा, राजन केसी, प्रणव सुबेदी (भोला) र सञ्जय खतिवडालगायत कलाकारहरूको अभिनय रहेको छ।
विजय मल्ल स्मृति प्रतिष्ठानका लागि विजय मल्ल परिवारद्वारा निर्माण गरिएको चलचित्रका कार्यकारी निर्मातामा चैतन्य प्रकाश प्रधान, उमेश मल्ल, रमेशबाबु श्रेष्ठ र राम भट्टराई रहेका छन् भने लाइन प्रोड्युसर पुष्कर लामा (प्रेम भोम्जन) हुन्। कथा विजय मल्लको रहेको चलचित्रको पटकथा तथा संवाद निर शाह, प्रजल दुलाल र सुगम दुलालले संयुक्त रूपमा तयार पारेका हुन्।
शिवराम श्रेष्ठको छायाङ्कन, मिलन विक्रम शाहको सम्पादन, किरण तुलाधरको पृष्ठभूमि संगीत, मुकेश शाहको साउन्ड मास्टरिङ र रामजी लामिछानेको कोरियोग्राफी रहेको चलचित्रलाई एप्पल इन्टरटेन्मेन्ट, रिच इन्टरटेन्मेन्ट र एफडी कम्पनीले देशभर वितरण गर्नेछन्।
सामाजिक सन्देश बोकेको ‘कमला मिस’ आगामी साउन २२ गते शुक्रबारदेखि देशभरका चलचित्र हलमा प्रदर्शनमा आउनेछ।




















