पवन सिग्देल
इटहरी । निर्माणाधीन नेपाली चलचित्र ‘The Rise of Saamrajya’ मा अभिनेता सौगात मल्ल औपचारिक रूपमा आबद्ध भएका छन्। निर्माण टिमले शुक्रबार विशेष पोस्टर सार्वजनिक गर्दै उनलाई चलचित्रमा स्वागत गरेको हो।
पोस्टरसँगै निर्देशकले सौगात मल्लप्रति आफ्नो विश्वास व्यक्त गर्दै लेखेका छन्, “केही कलाकारहरूले पात्र निभाउँछन्, तर केही कलाकारहरूले पात्रलाई अमर बनाइदिन्छन्। नेपाली चलचित्रका उत्कृष्ट कलाकार सौगात मल्ल दाइलाई हाम्रो महाअभियान ‘The Rise of Saamrajya’ मा हार्दिक स्वागत छ।”
डार्क हर्स इन्टरटेन्मेन्टको प्रस्तुतिमा निर्माण हुन लागेको यस चलचित्रमा सौगात मल्लको प्रवेशसँगै दर्शकमाझ उत्साह थपिएको निर्माण टिमले जनाएको छ।
चलचित्रका निर्माता प्रवेश चौधरी र निला देव रहेका छन् भने सह-निर्मातामा विश्वास बस्नेत (बेन) र कार्यकारी निर्मातामा शंकर पाण्डेय छन्। चलचित्रको डीओपी मन कृष्ण महर्जन, एक्सन निर्देशक श्री श्रेष्ठ तथा मिडिया को-अर्डिनेटर सुरक्षा भट्टराई रहेका छन्।
निर्माण टिमले चलचित्रका अन्य कलाकार, कथावस्तु तथा प्रदर्शन मिति क्रमशः सार्वजनिक गर्दै जाने जनाएको छ। अभिनेता सौगात मल्लको आगमनले चलचित्रप्रति दर्शकको अपेक्षा अझ बढ्ने विश्वास निर्माण पक्षले लिएको छ।




















