Screenshot 2026-08-08 at 1.49.56 PMपवन सिग्देल 

इटहरी । ‘खुस्मा’बाट निर्देशनमा चर्चा कमाएका अशोक थापा मगर आफ्नो दोस्रो चलचित्र ‘जलाकी’ लिएर दर्शकमाझ आउने तयारीमा छन् । आगामी मंसिर ४ गतेदेखि देशभर प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्रको पहिलो गीत ‘चाँदी जलप’ सार्वजनिक गरिएको छ ।

निर्माण टिमले शुक्रबार युट्युबमार्फत सार्वजनिक गरेको गीतमा अन्जु पन्त र एसडी योगीको स्वर रहेको छ । सुरेन्द्र रानाको शब्द तथा एसडी योगीकै संगीत रहेको गीतमा रिकेश गुरुङको संगीत संयोजन छ । गीतको भिडियो कोरियोग्राफी सुरेन्द्र राईले गरेका हुन् ।

गीतको भिडियोमा चलचित्रका प्रमुख कलाकार सोनम तोप्देन, उपासना सिंह ठकुरी र शिल्पा मास्केसहित अस्तित्व भट्टचन, साहारा, राजु, भावना र दीपिकालाई प्रस्तुत गरिएको छ । भिडियोमा कलाकारहरूको आकर्षक प्रस्तुति देख्न सकिन्छ । 

‘खुस्मा’ र त्यसको लोकप्रिय गीत ‘रुकुम मैकोट’बाट दर्शकमाझ परिचित बनेका निर्देशक मगरले आफ्नो दोस्रो चलचित्रबाट पनि दर्शकको माया पाउने अपेक्षा राखेका छन् । चलचित्रमा नेपाली फिल्म क्षेत्रका स्थापित कलाकारसँगै नयाँ अनुहारको समेत सहभागिता रहेको छ ।

‘जलाकी’मार्फत ‘मिस सिक्किम’ साहारा हाङमा लिम्बूले नेपाली चलचित्रमा डेब्यु गर्दैछिन् । चलचित्रमा सोनम तोप्देन, उपासना सिंह ठकुरी, शिल्पा मास्के, माओत्से गुरुङ, बुद्धि तामाङ र अस्तित्व भट्टचन मुख्य भूमिकामा छन् ।

त्यस्तै रजनी गुरुङ, राजु रेग्मी मगर, उषा खड्गी, खड्क बहादुर पुन (खबपु), लुनिभा तुलाधर, संगीता थापा, कर्मा लामा तामाङ, भावना मगर, राज काउचा मगर र दुइसाङ थिनलगायत कलाकारको पनि अभिनय रहेको छ । विशेष भूमिकामा क्याप्टेन विजय लामा देखिनेछन् भने बालकलाकारतर्फ मुन्जन थापा मगर, नुलाम्मा बान्तावा र रिन्सी धनहा मगर रहेका छन् ।

चलचित्रको छायांकन शैलेन्द्र डी. कार्कीले गरेका हुन् । प्रदर्शन मिति घोषणा भएसँगै चलचित्रका दुई पोस्टरसमेत सार्वजनिक भइसकेका छन् । ती पोस्टर ट्राइडेन्ट कन्सेप्टका रोयल भिमसेनले डिजाइन गरेका हुन् ।

‘जलाकी’का निर्माता ओम घर्ति मगर, वीर बहादुर लामा, चन्द्र बहादुर भट्टचन, बेताने मगर (बबिता राना), मान बहादुर धनाह मगर र सुस्मिता बुढाथोकी रहेका छन् । चलचित्रलाई काफिया फिल्मस् र कुवेर सिने डिष्ट्रीव्युसनले देशभर वितरण गर्नेछन् ।