काठमाडौं । कम्बोडियाको एक होटल क्यासिनोमा भएको भीषण आगलागीमा परेर कम्तिमा १९ जनाको मृत्यु भएको छ । मृत्यु भएकामध्ये एकजना नेपाली नागरिक छन् । झापाको विर्तामोड नगरपालिका १ घर भएका ४० वर्षीय निराकार पाण्डेको मृत्यु भएको हो ।पाण्डेका सहपाठी दिनेश सिलवालले बिहीबार बिहान ४ बजेतिर मृत्यु भएको पुष्टि भएको  बताए । सिलवालले भने थाइल्याण्डस्थित नेपाली दूतावासमार्फत शव ल्याउनका लागि पहल भइरहेको छ ।उनले नेपाली कन्सुलेट जनरलबाट पत्र लिएर शव ल्याउने प्रक्रिया थालिने बताए ।

सिलवालका अनुसार व्यवसायको सिलसिलामा सिलवाल एक महिना अघि भिजिट भिसामा कम्बोडिया गएका थिए । उनी अंग्रेजी नयाँ वर्षमा घर फर्किने तयारीमा थिए । त्यहाँको ग्राण्ड डायमन्ट सिटी बिल्डिङमा रहेको होटल क्यासिनोको १२ औं तलामा उनी बसेका थिए ।

स्थानीय समयअनुसार बिहीबार राति साढे ११ बजेपछि आगलागी सुरु भएको बीबीसीले जनाएको छ । आगलागी भएपछि केही व्यक्ति भवनबाट हामफाल्दै गरेका भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएका थिए ।बाहिर निस्किन सक्ने सम्भवना नरहेपछि सिलवालले घरमा फोन गरेर परिवार र आफन्तसँग कुरा गरेका थिए । ‘

बाहिर सार्वजनिक भएको एक भिडियो सन्देशमा पाण्डेले दिनेशलाई आफ्नो परिवारको ख्याल राखिदिन भनेका छन् । उनले अब आफू नरहने भन्दै ९ वर्षीय छोरा र परिवारको हेरचाह गरिदिन भनेका छन् ।

निराकरका बुबा विर्तामोड १ का वडाध्यक्ष छन् । उनका सहपाठी वडा नं. ३ का वडाध्यक्ष मदन बुढाथोकी भन्छन्, ‘मैले पनि भिडियोहरु हेरेँ, एकदमै विक्षिप्त भएँ ।

उनले परिवारका सदस्यहरु भिडियो हेरेर विक्षिप्त भएको बताए । एक भिडियोमा उनले छोरालाई धेरै माया गर्ने बताउँदै भनेका छन्, ‘राम्रो मान्छे बन्नु है छोरा । कसैलाई चिट गर्नुहुन्न, फ्रड गर्नुहुन्न भनेका थिए ।