काठमाडौँ । निर्वाचन आयोगले बाजागाजासहित भोट नमाग्न राजनीतिक दलहरूलाई निर्देशन दिएको छ । आसन्न मङ्सिर ४ मा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य चुनावमा निर्वाचन आचारसंहिता पालना गर्न निर्वाचन आयोगले आग्रह गरेको छ।
राजनीतिक दल, उम्मेदवार, भातृ सङ्गठन तथा सम्बन्धित व्यक्तिले जुलुस, आमसभा, कोणसभा वा भेला गर्दा स्थानीय प्रशासन र प्रहरीलाई मिति, समय, मार्ग र स्थानको बारेमा कम्तीमा चौबिस घण्टा अगावै जानकारी गराउनुपर्ने आयोगले जनाएको छ ।
घरदैलोमा जाँदा उम्मेदवारले पच्चीस जनाभन्दा बढीको जुलुस लिएर जान नहुने आयोगको भनाई छ । बाजागाजा तथा झाँकीसहित जान नहुने, यस्ता कार्यक्रममा बालबालिकाको प्रयोग गर्न नहुने भन्दै आयोगले सचेत गराएको छ ।




















