काठमाडौ । नेपाली कांग्रेसको भ्रातृ संस्था, नेपाल विद्यार्थी संघले त्रिभुवन विश्वविद्यालयमा भएका बेथितीविरूद्ध थप आन्दोलन गर्ने घोषणा गरेको छ।
कीर्तिपुरस्थित उपकुलपतिको कार्यालय अगाडि प्रदर्शनपछि आइतबार दिउँसो आयोजित कोणसभामा बोल्दै नेविसंघ केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले आन्दोलन थप चर्काउने बताए।
आजै बिहान पत्रकार सम्मेलन गर्दै त्रिविले विद्यार्थीले अनावश्यक राजनीति गर्दा समस्या भइरहेको बताएको थियो भने त्रिवि परिसरमा सुरक्षा व्यवस्था गरिदिन गृह मन्त्रालयसँग आग्रह गरेको थियो।
त्रिविले तोडफोड र आक्रमणमा उत्रने विद्यार्थीलाई रेष्टिकेट गर्ने चेतावनी पनि दिएको छ।त्रिविले पत्रकार सम्मेलन गरिरहँदा नेविसंघले हुबहु प्रश्नपत्रबारे छानबिन समितिले तयार पारेको प्रतिवेदन बुझाउन माग गर्दै प्रदर्शन गरिरहेको थियो।
सोही बेला अनेरास्ववियु र नेविसंघबीच ढुंगा हानाहान भएको थियो। त्यसको केही समयपछि नेविसंघ केन्द्रीय अध्यक्ष शेर्पासहितले प्रदर्शन र कोणसभा गरेका हुन्।नेविसंघले त्रिवि उपकुलपति धर्मकान्त बाँस्कोटासहित पदाधिकारीले राजीनामा दिनुपर्ने माग पनि गरेको छ।
अध्यक्ष दुजाङ शेर्पाले त्रिवि पदाधिकारीलाई बर्खास्त गर्नुपर्ने बताए।त्रिविको आन्दोलनमा नेविसंघ केन्द्रको पूर्ण ऐक्यवद्धता छ। आन्दोलन कस्तो हुन्छ त्यसका लागि तयार भएर बस्न पनि साथीहरूलाई आग्रह गर्दछु,’ शेर्पाले भने, ‘पदाधिकारीहरूको बर्खास्तको घोषणा गर्न चाहन्छु।
उनले आन्दोलनमा होमिन पनि आग्रह गरे। ‘अब आन्दोलनलाई थप अगाडि बढाउँछौं। हामीले स्पष्ट भनेका छौं( विद्यालयदेखि विश्वविद्यालयसम्म राजनीतिक भागबन्डा हुन हुन्न।’
त्रिविले हुबहु प्रश्नपत्र दोहिरिँदा पनि छानबिन गरेको प्रतिवेदन सार्वजनिक नगरेको उनले बताए। ‘त्रिविको शैक्षिक वातावरण नबिग्रियोस् भन्नेमा हामी सचेत छौं। हाम्रो आन्दोलनले कुनचाहिँ पढाइ र परीक्षा रोकियो उनले भने, ‘नेविसंघले गुण्डागर्दी गर्यो भनेर भ्रम फैलाइएको छ।




















