काठमाडौं । सरकारले काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनलाई प्रभावकारी बनाउनका लागि अनुगमन समिति बनाउने तयारी गरेको छ । शहरी विकास मन्त्रालयले आयोजना गरेको बैठकमा शहरी विकास मन्त्री मेटमणि चौधरीले काठमाडौंको फोहोर व्यवस्थापन गर्न अनुगमन समिति बनाउने प्रस्ताव गरेका छन् ।
बञ्चरेडाँडा ल्याण्डफिल साइटमा फोहोर व्यवस्थापन गर्न नियमित अनुगमन, सम्झौता कार्यान्वयन लगायत विषयमा सरोकार जिल्लाका सांसदहरु सम्मेलित अनुमगन समिति बनाउनु पर्ने प्रस्ताव मन्त्रालयले गरेको बैठकमा सहभागी एक प्रतिनिधिले बताए ।
ककनी गाउँपालिकाका अध्यक्ष सुमन तामाङका अनुसार काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका, धादिङको धुनवेशी नगरपालिका र नुवाकोटको ककनी गाउँपालिकाका प्रतिनिधिसहित छलफलमा सहभागी भएका थिए ।
छलफलमा सहभागि एक प्रतिनिधिका अनुसार शहरी विकास मन्त्री मेटमणि चौधरीले काठमाडौंका सांसद समेत रहेका नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई संयोजक बन्न प्रस्ताव गरेका थिए । ती प्रतिनिधिका अनुसार मन्त्री चौधरीको प्रस्तावलाई थापाले काठमाडौं, धादिङ र नुवाकोटका सांसदहरुको भेलाबाट निर्णय हुनुपर्ने बताएको थिए । थापाले ती तीन जिल्लाका सांसदहरुको उपस्थितिविना निर्णय लिन नहुने सुझाव दिएका थिए ।
मन्त्रालयले आयोजना गरेको बैठकले स्थानीयवासीसँगको सम्झौतामा थप छलफल गर्न सिफारिस गर्ने, अनुगमन तथा सहजीकरण समिति बनाउने र फोहोर मैला व्यवस्थापनमा उपलब्ध नयाँ प्रविधि सम्बन्धी अध्ययन गर्न मन्त्रालयका सहसचिवको संयोजकत्वमा समिति गठन गर्ने निर्णय समेत गरेको छ ।
ककनी गाउँपालिकाका अध्यक्ष सुमन तामाङले अर्को बैठकमा धादिङ र नुवाकोटका सम्बन्धित क्षेत्रका सांसद र जनप्रतिनिधिको अनिवार्य उपस्थित हुन निर्देशन दिने समेत मन्त्रालयले तयारी गरेको बताए ।




















