धरान । निर्वाचित भएर आएदेखि नै खानेपानी समस्या समाधान गर्न अहोरात्र खटिदै आउनु भएका मेयर हर्क साम्पाङको अभियानलाइ सार्थकता बनाउन अहिले धरानेबासीमात्र हैन हङकङ युके बस्ने धरानेहरुले समेत आर्थिक तथा श्रमदान गरेर सहयोग गदै आइरहेका छन् ।
केही समय अगाडि उहाँले धरान २० मा रहेको पकुवा खोलाबाट जनश्रमदान गरेर धरान ११ का बासिन्दालाई पानी वितरण गर्नुभएको थियो भने अहिले फेरि धरान ४ मा रहेको निशाने खोलाबाट पानी ल्याउने अभियान निरन्तर अभियान चलाउदै आउनु भएको छ भने सर्दु जलाधार क्षेत्रमा मिनी हाइड्रो पावर शुरु गर्ने अभियान समेत सञ्चालन हुदै आएको छ ।
साम्पाङको अभियानलाई केहीले पत्याएनन् तर धेरैले पत्याएका छन् । पत्याएकै कारण पछिल्लो समय कुल ३२ लाख बढीको पाइप सहयोग भइसकेको छ । खानेपानी व्यवस्थापन बोर्डका स्टोरकिपर गंगाराम भट्टराईका अनुसार हालसम्म कुल ३२ लाख १३ हजार ४ सय ५५ बराबरको पाइप दाताहरुबाट हस्तान्तरण भइसकेको छ । ती पाइपहरु २ इञ्ची, ३ इञ्ची, १० इञ्ची, १२ इञ्ची रहेको पनि उनले जानकारी दिए ।
खनेपानीसंगै साम्पाङले सर्दु खोलाबाट प्रोटोटाइपको मिनि हाइड्रोपावर शुरु गर्ने योजना अघि सार्दा धेरैले पत्याएका थिएनन् । मेयर साम्पाङको योजनाले कसैलाई उत्साहित बनाएको थियो भने ती हुन्, धरान ८ तीनकुनेस्थित पुर्वाञ्चल क्याम्पसका शिक्षक र इञ्जिनियरीङ अध्ययनरत विद्यार्थीहरु । मेयर साम्पाङले त्यहाँका सिभिल, इलोक्ट्रिकल र मेकानिकल विभागीय प्रमुखहरुलाई सर्दु खर्दु खोला स्थलगत अध्ययन गर्न मात्र लगेनन्, सिभिल चौथो बर्षका विद्यार्थीहरुमार्फत सर्भेसमेत गराए ।
अहिले प्रोटोटाइप निर्माणको काम अन्तिम चरणमा भइरहेको छ । प्रोटोटाइप निर्माण सम्पन्न नहुदै अहिले इञ्जिनियरीङका विद्यार्थीहरुको अध्ययन (फिल्ड भिजिट) गर्ने थलो बनेको छ । पुर्वाञ्चल क्याम्पसका सिभिल तेस्रो बर्षका विद्यार्थीहरु प्रोटोटाइप अध्ययन गर्न सर्दु मुहान क्षेत्र पुगेका थिए ।
सिभिल विभागीय प्रमुख प्रभात देवसँगै पुगेका विद्यार्थीहरुले पावरहाउस, इन्टेक, मुहानलगायत क्षेत्रको स्थलगत अध्ययन गरेका छन् । शिक्षक देवले विद्यार्थीहरुलाई धेरै फाइदा पुगेको बताए । उनले विद्यार्थीहरुको लागि यो सिकाइका लागि वरदान नै भएको बताउदै विजुली धेरै उत्पादन नभए पनि केही गर्न खोजेको बताउदै उनले विद्यार्थीलाई आत्मविश्वास जगाउने बताए ।
फिल्ड भिजिटमा आएका विद्यार्थी कुशल सुवेदीले किताबमा पढेको कुरा फिल्डमा आएर प्रत्यक्ष हेर्दा धेरै फाइदा पुग्ने बताएका थिए ।
मेयर हर्क साम्पाङले मिनी हाइड्रो कन्सेफ्टले काम थालिएको बताए । उनले आफूलाई सबैले साथ दिएको बताउदै जाति पनि काम अगाडि बढाइएको छ सबै जनश्रमदानका साथै निस्वार्थ भावना बोकेर गरिएको बताए ।
निर्वाचित भएदेखि नै साम्पाङ उपमहानगरपालिकाको कार्यालय भन्दा पनि बढी फिल्डमा खटिदै आउनु भएको छ । कहिले सर्दु जलाधार क्षेत्रमा वृक्षारोपण गर्ने, धरान १४ विजयपुरमा रहेको पञ्चकन्यामा वृक्षारोपण गर्ने, प्रत्येक शुक्रबार चौक चौकमा लागू औषधि नियन्त्रणका लागि सरोकारवालासँग मिलेर अभियान चलाउने लगायतका काममा व्यस्त रहेका छन् ।




















