काठमाडौं । मुम्बई जान लागेको नेपाल एयरलाइन्सको विमानबाट पक्राउ परेका व्यक्तिको परिचय खुलेको छ । उनी कैलालीका सन्तोष लामिछाने रहेको  प्रहरीले जनाएको छ ।

उनी सुदूरपश्चिम प्रदेश सुनचाँदी व्यवसायी संघका अध्यक्ष हुन् । उनीसँगै पत्नी मीना लामिछाने पनि सँगै विमान चढेर मुम्बई जान लागेकी थिइन् ।

चोरी सुन किनेको आरोपमा उनी पक्राउ परेका हुन् । प्रहरीलाई  विमानमा रहेका एक शंकास्पद यात्रुबारे विशेष सूचना आएपछि विमान रोकेर चेकजााच गरिएको  थियो । सबै यात्रु ओरालेर प्रहरीले सुरक्षा जाँच गरेको थियो ।

लामिछानेमाथि यसअघि पनि जिल्ला प्रहरी कार्यालय कैलालीमा ठगी आरोपमा उजुरी परेको प्रहरी स्रोतले जनाएको छ । लामिछाने सुनचाँदी व्यवसायीको टोलीसँग मुम्बई घुम्न जान लागेका थिए ।

उक्त विमानमा चढिसकेका लामिछानेलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ । त्रिभुवन विमानस्थल कार्यालयका प्रमुख प्रेमनाथ ठाकुरका अनुसार १ः१० मा मुम्बई उड्नुपर्ने न्यारोबडी जहाजलाई प्रहरीको आग्रहमा रोकेको थियो ।