लगातारको वर्षासँगै झरेको पहिरोले मध्यपहाडी लोकमार्ग अवरूद्ध भएको छ।

केही दिनदेखि लगातार परिरहेको वर्षाका कारण आज बिहान हलेसी तुवाचुङ नगरपालिका–७ स्थित महादेवस्थान नजिक पहिरो खस्दा मध्यपहाडी लोकमार्गअन्तर्गतको दिक्तेल–जयराम सडक अवरूद्ध भएको हो।    

सडकमाथिबाट पहिरो खसेपछि दिक्तेलबाट काठमाडौं, उदयपुर, इटहरी, धरान, बिराटनगर, काँकडभिट्टालगायत ठाउँमा जाने सवारी साधन बाटैमा रोकिएका छन्। 

अवरूद्ध सडकको पहिरो पन्छाएर सञ्चालनमा ल्याउन हलेसी तुवाचुङ नगरपालिकाले स्काभेटर पठाएको वडा नं। ७ का वडाध्यक्ष कमल गिरीले जानकारी दिए।

वर्षा याममा जिल्लाका अन्य कच्ची सडक ठप्प हुँदा मध्यपहाडी लोकमार्ग मात्र नियमित सञ्चालन हुँदै आएको थियो।     

उक्त लोकमार्गअन्तर्गत दिक्तेल–चखेवाभञ्ज्याङ सडकको साप्सुखोला र छेपेखोलामा पहिरो खसेर सडक अवरूद्ध भएको यातायात व्यवसायीहरूले बताएका छन्।

वर्षा सुरू भएसँगै आएको भेल तथा पहिरोका कारण जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारबाट अन्तरपालिका जोड्ने सबै ग्रामीण सडक अवरूद्ध भएका छन्।