विराटनगर । विराटनगरबाट हिजो बिहिबार साँझ प्रहरीले ८ ट्रक अवैध सुपारी बरामद गरेको छ । प्रदेश १ प्रहरी कार्यालयले दिएको जानकारी अनुसार उक्त सुपारी विराटनगर रानीमा चेकजाँचका क्रममा बरामद भएको छ । 
सबै ट्रकहरू भारतीय नम्बर प्लेटका छन् । चालक पनि भारतीय नै रहेको प्रहरीले जनाएको छ । हामी अनुसन्धानकै क्रममा छौँ, पहिलो लेयर भेटेका हौँ, माल ल्याउन वास्तविक मान्छे को हो भन्ने पत्ता लाग्न सकेको छैन,’ प्रहरी स्रोतले भन्यो । उक्त ट्रकहरू इलाका प्रहरी कार्यालय रानीमा राखिएको छ ।
आवश्यक प्रक्रिया पुरा गरी भन्सार कार्यलयलाई बुझाउने तयारी गरेको प्रहरीले जनाएको छ । मोरङको रानी नाका हुँदै सुपारी तस्करी हुँदै आएको छ । अन्य मुलुकबाट आउने सुपारी नेपालको भन्दै तस्करहरूले अवैध तरिकाले भारत तस्करी गर्दै आएका छन् । 

प्रहरीले सुपारीसहित नियन्त्रणमा लिएका ट्रकहरूमा युपी ४५ टी १६२४, एमपी ०९ एचजी ८३२०, एमपी २२ एच १०३१, युपी ५० बिटी ७२७७, युपी ६२ बिटी ८१२१, युपी ५४ टी ६४२९, युपी ५० एटी ३१५८ र युपी ६२ सिटी ०६२७ नम्बरका रहेका छन् ।