काठमाडौं । प्रधानसेनापति महारथी पर्शुराम शर्मा औपचारिक भ्रमणका लागि लेवनानतर्फ प्रस्थान गर्नुभएको छ ।
सात सदस्यीय टोलीसहित प्रधानसेनापति शर्मा आज लेवनान प्रस्थान गरेका हुन् । द्वन्दग्रस्त क्षेत्रमा शान्ति स्थापनार्थ तैनाथ फौजको हौसला अभिवृद्धि गर्नुका साथै यूएन मिसनको भावी योजनाका बारेमा जानकारी लिन शर्मा लेवनान जानुभएको हो ।
प्रधानसेनापति शर्मा नेतृत्वको भ्रमणदललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भीआईपी कक्षमा बलाधिकृत रथी बालकृष्ण कार्कीले बिदाइ गनुभएको हो।
भ्रमणदलले यही असार १० गतेसम्म यूएनको आह्वानमा शान्ति स्थापनार्थ नेपाली शान्ति सैनिकहरु तैनाथ मिसनहरूको निरीक्षण, मिसनको वस्तुस्थिति, अपरेशनल गतिविधि, फौज तैनाथीको अवस्थालगायतको जानकारी लिनेछ ।
भ्रमणको क्रममा, प्रधान सेनापति महारथी शर्माले लेवनान, सिरियाका विभिन्न मिसनका उच्च पदस्थ अधिकारीहरुसँग भेटघाट गर्ने कार्यक्रम पनि रहेको छ ।
भ्रमण अवधिभर बलाधिकृत रथी बालकृष्ण कार्कीले कायम मुकायम प्रधानसेनापतिको कार्यभार सम्हाल्ने छन् ।




















