काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले समयमै क्षतिपूर्ति नदिँदा काठमाडौंको नयाँ बजारस्थित खुसीबु क्षेत्रका खानेपानी पाइपलाइन मर्मत र सडक पुनर्निर्माणमा ढिलाइ भइरहेको  छ ।

प्राधिकरणले विद्युत् लाइन भूमिगत गर्दा खुसीबु क्षेत्रमा करिब १४ किलोमिटर खानेपानी पाइपलाइनमा क्षति भएको काठमाडौं उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले जनाएको छ ।

निर्देशनालयका अनुसार खानेपानी पाइपलाइनमा पुगेको क्षति मर्मत सम्भारका लागि करिब ६ करोड रुपैयाँ खर्च लाग्ने प्रारम्भिक अनुमान गरिएको थियो ।

विद्युत् लाइन भूमिगत गर्दा क्षति भएका खानेपानीका पाइपलाइनको मर्मत एवं सडक पुनर्निर्माणका लागि प्राधिकरणबाट क्षतिपूर्ति रकम प्राप्त नहुँदा काम सम्पन्न गर्नमा ढिलाइ भएको आयोजनाका उपनिर्देशक एवं प्रवक्ता इन्जिनियर चन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

पाइपलाइनको मर्मत सम्भार एवं सडक पुनर्निर्माणका लागि लाग्ने क्षतिपूर्ति रकम प्राधिकरणले पीआईडीलाई भुक्तानी दिने सम्बन्धमा पीआईडी र नेपाल विद्युत् प्राधिकरण, काठमाडौं उपत्यका पूर्व तथा दक्षिण वितरण प्रणाली आयोजनाबीच यसअघि नै सहमति भएको श्रेष्ठको बताउनुभयो ।