काठमाडौं / सरकारले सवारी साधनमा अनिवार्य इम्बोस्ड नम्बर प्लेट जडान नगरे कारबाही गर्ने चेतावनी दिए पछि युवा संघ नेपालले प्रदर्शन गरेको छ ।
मंगलबार काठमाडौंको नयाँ बानेश्वरमा युवा संघका कार्यकर्ताहरुले सवारी साधनको इम्बोस्ड नम्बर प्लेटको अस्वाभाविक मूल्य र सरकारको अव्यवहारिक रवैयाविरुद्ध प्रदर्शन गरेको हो ।
कालो ब्यानरमा इम्बोस्ड नम्बर घोटाला हो’, लिपी मास्न पाइदैन, इम्बोस्ड नम्बर चाहिँदैन’ लगायतका नारा जुलुस गर्दै यातायात व्यवस्था कार्यालय अगाडि पुगेका छन् ।
सरकारले कारबाहीको चेतावनी दिएपछि सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान गर्ने सवारी धनीहरुको यातायात कार्यालय गुर्जुधारामा भिड लागेको छ । यातायात व्यवस्था विभागले आगामी साउन १ देखि सबै सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्न नखोजिएको स्पष्टीकरण दिएको छ ।
विभागले मंगलबार एक विज्ञप्ति निकाल्दै २२ कात्तिक २०७८ को राजपत्रमा प्रकाशित सूचनामा तोकिएका सवारी साधनमा मात्रै इम्बोस्ड प्लेट अनिवार्य गर्न लागिएको उल्लेख गरेको छ ।
शुक्रबार सूचना प्रकाशित गर्दै विभागले असार मशान्तभित्र इम्बोस्ड प्लेट जडान गरिसक्नुपर्ने नभए कारवाही गर्ने चेतावनी दिएपछि चौतर्फी आलोचना भएको थियो ।




















