भैरहवा / भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट कुवेत जाँदा आठ हजार रूपैयाँ सस्तो पर्ने भएको छ।
काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्दा भैरहवाबाट कुवेत जाँदा आठ हजार रूपैयाँ कम पर्ने विमानस्थलका प्रवक्ता श्यामकिशोर शाहले जानकारी दिनुभयो ।
जजिरा एयरवेजले यही महिनाबाट उडान सुरू गरेको हो। व्यावसायिक उडान गरिरहेको जजिराले विमानस्थल सेवाशुल्कमा पनि छुट पाएको पनि शाहले बताए।
जजिराले एक वर्षसम्मका लागि विमानस्थलमा लाग्ने अवतरण, पार्किङ, सञ्चार तथा उड्डयन सहायता सेवा र सुरक्षा जाँचमा शुल्क छुट पाएको हो।
हाल जजिराले उडान गरिरहेको एयरबस ३२० निओ जहाजले सेवाशुल्क वापत करिब एक लाख रूपैयाँ छुट पाएको छ। यसअघि नागरिक उड्डयन प्राधिकरणले यो विमानस्थलमा उडान सुरू गर्ने कम्पनीलाई एक वर्षसम्म सेवाशुल्क छुट गर्न संस्कृति पर्यटन तथा नागरिक उड्डयन प्राधिकरणलाई प्रस्ताव गरेको थियो।
गौतम बुद्ध नयाँ विमानस्थल भएको र वायुसेवा कम्पनीहरूको आकर्षण बढाउन गरिएको यो प्रस्ताव जेठ ३ गते मन्त्रिस्तरीय निर्णयबाट पारित भएको थियो। योसँगै जेठ १४ गतेबाट यो निर्णय कार्यान्वयनमा आएको प्रवक्ता शाहले बताए।
सेवाशुल्क छुट पाएसँगै जजिराको टिकट भाउ पनि कम भएको छ।
शाहले भने, 'टिकट शुल्क घटेपछि रोजगारीका क्रममा गन्तव्य मुलुकमा जाने यात्रु संख्या बढेको छ।
हाल जजिराले सोमबार, मंगलबार र शुक्रबार गरी सातामा तीन उडान गरिरहेको छ। जजिराको जहाज एक सय ७४ यात्रु क्षमता भएको हो। अहिले दैनिक एक सय ५० पचास जना भैरहवाबाट कुवेत उडिरहेका छन्।
रोजगारका लागि गन्तव्य मुलुक जान काठमाडौं आउनुपर्ने बाध्यता हटेसँगै अहिले दैनिक दुई सय पचास यात्रुले आवतजावत गरिरहेको शाहले जानकारी दिए।
उनका अनुसार कुवेतबाट भैरहवा आउनेभन्दा बाहिरिने यात्रु बढिरहेका छन्। जेठ २ गतेयता दुई हजार ४९ यात्रुले आवतजावत गरिसकेका छन्। यसमा एक हजार एक सय ३७ जना यात्रु भैरहवाबाट बाहिरिएका छन् भने एक हजार दुई सय ४० जना भित्रिएका छन्।
गौतम बुद्ध विमानस्थलबाट पहिलो व्यावसायिक उडान गरिरहेको जजिराले अब एक महिनाभित्र सातै दिन उडान थाल्ने एयरवेजका सञ्चालन प्रमुख संगीता रौनियारले बताइन्।
भैरहवाबाट अन्तर्राष्ट्रिय उडानका लागि करिब एक दर्जन वायुसेवा कम्पनीले पनि चासो देखाएका छन्। यसमा नेपाल एयरलाइन्स, एयर अरेबिया, श्रीलंकन, सलाम एयर, थाई स्माइल, कतार एयरवेज, फ्लाइ दुबइ, गल्फ एयर, गो एयर, एयर बिज, ओमन एयर, चिनियाँ एयरलाइन्स लगायत भएको शाहले जानकारी दिए।
यी एयरलाइन्समध्ये भैरहवामा दोस्रो व्यावसायिक उडान एयर अरेबियाले गर्ने सम्भावना छ। हाल एयर अरेबियाले उडानपूर्व गर्नुपर्ने तयारी गरिरहेको छ।
'एयर अरेबियाले ढिलोमा दसैंसम्म भैरहवा उडान थाल्ने सूचना पाएका छौं,' प्रवक्ता शाहले भने, 'अन्य वायुसेवा कम्पनीहरूले उडान सुरू गर्न आन्तरिक तयारी गरिरहेका छन्।
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा सहज उडानका लागि विभिन्न अरू तयारीको भने कमी भएको उनले बताए। उनका अनुसार हाल नियमित अन्तर्राष्ट्रिय उडान भइरहँदा पनि विमानस्थलमा श्रम इकाइ छैन। वैदेशिक रोजगारीमा जानेहरूका लागि श्रम स्वीकृति, मेडिकल, भिसा, रोजगारसम्बन्धी कामहरू यहाँबाट हुन सकेको छैन।
दुई साताअघि श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले भैरहवामा कार्यालय र विमानस्थलभित्र श्रम इकाइ सञ्चालनमा ल्याउन निर्देशन दिएका थिए। असार १ गतेबाट श्रम कार्यालय सञ्चालनमा आउने बताइएको छ।
त्यसका साथै स्थानीय स्तरमा यात्रुका लागि सहज सार्वजनिक यातायात र यात्रुलाई बस्न होटल व्यवस्था हुने हो भने गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको आकर्षण बढ्दै जाने उनको भनाइ छ।




















