काठमाडौँ / नेपालमा समय अगावै मनसुन भित्रिए पनि आत्तिनुपर्ने अवस्था नरहेको जल तथा मौसम विज्ञान विभागले जानकारी छ । यसवर्ष समयभन्दा हप्ता दिन अगाडि नेपालमा मनसुन प्रवेश गरेको हो । विभागका अनुसार यसवर्ष जुन ५ मा मनसुन पूर्वी क्षेत्रबाट नेपाल भित्रिएको छ । नेपालका सबै क्षेत्रमा मनसुन सक्रिय हुन हप्ता दिन लाग्ने विभागले जनाएको छ ।
विभागकी प्रवक्ता विभूति पोखरेलले सधैँ एकै समय र मितिमा मौसम भित्रिने भन्ने नभएको भन्दै यसलाई नकारात्मक रुपले लिन नमिल्ने बताइन् । उनले हरेक वर्ष सामान्यतया नेपालमा १३ जुनपछि मात्रै मनसुन भित्रिने गरेको तर यसवर्ष भने ५ जुनमा नै मौसम भित्रिसकेको बताइन् । उनले बंगालको खाडी आसपास विकसित न्यून चापीय क्षेत्रका कारण आइतबारबाट नेपालको पूर्वी भेगबाट मनसुन प्रवेश गरेको बताइन् । गत वर्ष नेपालमा १० जुनमा मनसुन भित्रिएको थियो ।
सामान्यतया हाम्रो मौसम जुन १३ पछि आउने गर्दथ्यो । यो वर्ष जुन ५ मा नै मौसम नेपाल प्रवेश गरेको छ । सबै वर्ष यस्तै हुनुपर्छ भन्ने छैन । कहिले ढिलो, कहिले छिटो हुन्छ । तीन दिनको मौसमको कुरा गर्दा प्रदेश १ देखि गण्डकी प्रदेशसम्म हल्कादेखि मध्यम वर्षाको सम्भावना केही स्थानमा छ । त्यसैले अलि सतर्क रहनुपर्ने देखिन्छ ।
विभागले आगामी तीन दिन प्रदेश १ देखि गण्डकी प्रदेशसम्म हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताएको छ । मेघगर्जन चट्याङको सम्भावना रहेको भन्दै विभागले सतर्कता अपनाउन आग्रह गरेको छ ।




















