धरान / धरान उपमहानगरपालिकामा स्थानिय तहको निर्वाचन पछिको आज पहिलो कार्यपालिका बैठक बस्दैछ ।
जेठ ८ गते मेयर उपमेयर विजयीको घोषणा पछि आज पहिलो कार्यपालिका बैठक बस्ने भएको छ । आज बिहान ११ बजे देखि कार्यपालिका बैठक सुरु हुने धरान उपमहानगरपालिकाका उपमेयर आइन्द्र विक्रम बेघाले जानकारी दिए ।
जनप्रतिनिधिहरु निर्वाचित भएपछि विभिन्न पालीकाहरुमा तुरुन्त कार्यपालिका बैठक बसेर विभिन्न महत्त्वपूर्ण निर्णयहरू भइसकेको छ । धरानमा भने आज मात्रै कार्यपालिका बैठक बस्न लागेको हो । आजको बैठकबाट महत्त्वपूर्ण प्रस्तावहरू माथि निर्णय हुने बताइएको छ ।
नेकपा एमालेको बहुमत रहेको धरान उपमहानगरपालिकामा स्वतन्त्रबाट विजयी बनेका मेयर हर्कराज राईले आजको कार्यपालिका बैठकमा धरानको विकास, समृद्धि र विभिन्न मुद्दाहरूलाई सम्बोधन गर्ने एजेन्डाहरू प्रस्तुत गर्ने र सो एजेन्डाहरू माथि महत्वपुर्ण छलफल हुने धरानवासीको विश्वास रहेको छ।
निर्वाचित भएको घोषणा भएको १५ दिन पछि बस्दै गरेको यो पहिलो कार्यपालिका बैठकले आगामी आर्थिक वर्षको बजेट, विभिन्न समिति गठन र उपमहानगरपालिकाको प्रवक्ता तोक्ने लगायतको निर्णय हुन सक्ने बताइएको छ ।
विगतका कार्यपालिका बैठकमा सञ्चारकर्मीहरूलाई प्रवेश दिइँदैन थियो । तर यस पटक मेयरमा निर्वाचित भएपछि मेयर हर्क साम्पाङले सबै सञ्चारकर्मीहरूलाई बैठकको प्रत्यक्ष प्रसारण गर्न दिने बताएका छन् ।




















