झापा / झापाको बिर्तामोडमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ। विर्तामोड ५ का ४० वर्षीय कमल राउतले कुटपिट गर्दा ३९ वर्षीया खेमजुङ गुरुङको मृत्यु भएको हो।

शुक्रवार राति राउतले घरायसी विवाद हुँदा खेमजुङलाई कुटपिट गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। श्रीमानको कुटाइबाट गम्भीर घाइते उनलाई बिर्तामोडस्थित कनकाई अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारका लागि विराटनगरस्थित नोबेल अस्पताल लगिएको थियो।

नोबेल अस्पतालमा पनि उपचार हुन नसकेपछि आफन्तले बिर्तामोडस्थित माइती घर ल्याएका थिए। त्यही राति नै उनको मृत्यु भएको हो।

घटनाबारे इलाका प्रहरी कार्यालय अनारमनीले अनुसन्धान अघि बढाएको छ। कुटपिट गर्नुको कारण खुलेको छैन।