मोरङ : बुधबारदेखि हराइरहेकी मोरङको लेटाङ नगरपालिका ज्यामिरे टोलकी ११ वर्षीया करुणा राई मृत अवस्थामा फेला परेकी छिन् ।स्थानीय लालझोडा सामुदायिक वनको जङ्गलमा खाल्डो खनेर गाडिएको अवस्थामा करुणको शव भेटिएको हो ।

 मोरङ प्रहरीका प्रवक्ता डि एसपी मञ्जिल मुकारुङका अनुसार खाल्डो भित्र नाङ्गो अवस्थामा उनको शव भेटिएको हो ।

 इलाका प्रहरी कार्यालय लेटाङका प्रहरी निरीक्षक रोमन अर्याल नेतृत्वको टोलीले उत्खनन गर्दा शव भेटिएको र बालिकाको शरीरका विभिन्न भागमा चोट लागेको प्रहरीले जनाएको छ । अहिले पनि लेटाङ प्रहरीले घटनास्थलमै रहेर अनुसन्धान गरिरहेको छ । 

बलात्कारपछि हत्या गरेर उनको शव गाडिएको हुनसक्ने प्रहरीको आशंका छ । प्रहरीले घटनामा संलग्न भएको आशंका मा ४ जनालाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ । 

स्थानीय अन्दाजी ५०/६० वर्षीय पुरुषलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको प्रहरीले जानकारी दिएको छ । नाम नुखलाइएका उनीहरूको घर बालिका विद्यालय जाने बाटो र सामुदायिक वनको छेउमा पर्छ । 

पोस्टमार्टम रिपोर्ट प्राप्त भएपछि घटनाका बारेमा यकिन हुने प्रहरीले जनाएको छ । यसैबीच बालिकाको हत्याको विरोधमा ज्यामिरे क्षेत्रमा स्थानीयवासी तथा विद्यार्थीहरूले प्रदर्शन गरेका छन् । 

हत्यारालाई पक्राउ गरि कडा भन्दा कडा सजाय दिन माग गर्दै स्थानीयबासीले विरोध प्रदर्शन गरेका हुन् । गत बुधबार विद्यालय गएकी करुण घर नफर्केपछि बेपत्ता भएको भनेर खोजी भइरहेको थियो । स्कुलबाट घर फर्किनेक्रममा बेपत्ता भएपछि खोजी गर्नका लागि परिवारका सदस्यले प्रहरीलाई आग्रह गरेका थिए ।  उनी जाँते माध्यमिक विद्यालयमा कक्षा ६ मा अध्ययनरत थिइन् ।