इटहरी । जनगणनामा खटिने गणकहरुले सोध्ने प्रश्नहरुको जवाफ निर्धक्कका साथ दिन जिल्ला जनगणना कार्यालय सुनसरीले जिल्लावासीलाई आग्रह गरेको छ ।
मुलुक संघीयतामा गएपछि पहिलो पटक स्थानीय सरकारले दिने सेवा सुविधा देखि परिवारको समग्र अवस्थाका विषयमा जनगणनामा तथ्याँक संकलन गरिने भएका कारण गणकहरुले सोध्ने प्रश्नको जवाफ दिन आग्रह गरिएको हो ।
सुनसरी सदरमुकाम इनरुवामा पत्रकारहरुसंग जनगणनाका विषय केन्द्रीत भेटघाट कार्यक्रममा जिल्ला जनगणना अधिकारी सुभाष अधिकारीले गोपनियतामा आधारित भएर तथ्याँक संकलन गरिने भएका कारण झस्कनु पर्ने अवस्था नरहेको वताए । उनले सुपरिवेक्षकहरुले नमुना संकलनका क्रममा जनगणनाका लागि तयार पारिएको प्रश्नमा बैकका विषयमा प्रश्न गर्दा कतिपय मानिसहरु सशंकित भएको पाइएको वताउदै त्यो वित्तिय संस्थाको पहुँचका विषयमा जानकारी हासिल गर्नका लागि मात्र भएको जानकारी दिए ।
यस पटकको जनगणनामा मानिसको संख्या मात्र नभएर स्थानीय स्तरमै सेवा सुविधा लगायतका विषयमा समेत तथ्याँक सकलन गरिने समेत कार्यक्रममा जनाइयो । जनगणनामा घर ,घरपरिवार लगत सुचिकरण ,सामुदायिक प्रश्नावली वडास्तरको विषयवस्तु समेत रहेको समेटीएका ५५ प्रश्नहरु रहेको सो अवसरमा जानकारी दिइयो । प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको अध्यक्षतामा भएको पत्रकार भेटघाट कार्यक्रममा पत्रकारहरुले जनगणना सम्वन्धी विभिन्न प्रश्न गरेका थिए । पत्रकारहरुको प्रश्नका विषय तथा जनगणनाका विषयमा इनरुवा रामधुनीका जनगणना अधिकारी मनोज मेहता लगायतले जानकारी दिएका थिए ।




















