इटहरी । आज नेपाली हिन्दु महिलाहरुको महान पर्व हरितालिका तीज महादेवको पुजाअर्चना गरी सुनसरीमा पनि मनाइदै छ । तर वितगतको तुलनामा कोरोना कहरका कारण सुनसरीमा ठुलो संख्यामा भेला भएर पुर्जा अर्चनाका लागि मन्दिर जाने तथा नाचगान गर्ने कार्य गरिएको छैन ।

   विगतका वर्षहरुमा सुनसरीमा ठुलो संख्यामा विहानै देखि महिलाहरु भेला भएर नजिकका मन्दिरहरु गएर पुजाअर्चना गर्ने तथा नाचगान गरेर रामाइलो गर्ने गरेपनि यस वर्ष कोरोना कहरका त्यसो गरेको देखिदैन । कोरोनाको दोस्रो लहरवाट प्रभावित जिल्लामा सुनसरी उच्च जोखिममा रहेको जिल्ला भएका कारण समेत श्रद्धालु भक्तजनहरु आफै स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै भिडभाड नगरी पुजाअर्चना गरिरहेका छन ।20210909_092903

 सुनसरीको इटहरीमा रहेको राधाकृष्ण शिव मन्दिरमा पनि विगतको तुलनामा पुजाअर्चना गर्न आउने भक्तजनहरुको संख्या न्युन रहेको मन्दिरका पुजारी रविन्द्र भण्डारी वताउछन । उनले विगत दुई वर्ष अघि सम्म तीजका दिन मन्दिरमा पुजाअर्चना र नाचगानका लागि आउने भक्तजनहरुले मन्दिर परिसर खचाखच हुने गरेकोमा यस वर्ष त्यस्तो नभएको जानकारी दिए ।

 त्यसै गरी पुजाका लागि आएकी कुमारी न्यौपानेले समेत स्वास्थ्य सुरक्षा अपनाउनु परेका कारण परम्परा मान्ने गरी मात्र सुरक्षा अपनाएर पुजा गर्न आएको वताइन । विहानै देखि सुनसरीका विभिन्न स्थानमा वर्षा भएका कारण समेत पुजाअर्चनाका लागि आउने भक्तजनहरुको मन्दिरमा संख्या न्युन रहेको देखिन्थ्यो भने समुह वनाएर नाचगान गर्ने महिलाहरुको यस पटक मन्दिर तथा सार्वजनिक स्थानमा देखिएको छैन ।