काठमाडौं उपत्यकामा भोलि ९मंगलबार० देखि सार्वजनिक सवारीसाधन पनि सञ्चालन गर्न पाइने भएको छ।
अहिले बैठक जारी रहेको र जोररबिजोर प्रणालीमा यातायात खुलाउनेबारे औपचारिक निर्णय गर्न मात्र बाँकी रहेको ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले नेपालखबरलाई जानकारी दिए।
‘भोलिदेखि अरू एक हप्ता निषेधाज्ञा थप गर्ने निर्णय भर्खर भयो,’ नेपालखबरसँग उनले भने, ‘अब सार्वजनिक सवारीसाधन कसरी सञ्चालन गर्न दिने भन्ने विषयमा निर्णय गर्न बाँकी छ।’
यसअघि घोषित निषेधाज्ञाको अवधि आज राति १२ बजेबाट सकिँदै छ।
निषेधाज्ञाका कारण गत वैशाख १६ देखि काठमाडौं उपत्यकामा सार्वजनिक सवारीसाधन सञ्चालन गर्न दिइएको छैन। निजी सवारीसाधन भने अघिल्लो हप्तादेखि जोररबिजोर प्रणालीमा चलाउन दिइएको छ।
अहिले उपत्यकाका तीन जिल्ला ९काठमाडौं, ललितपुर र भक्तपुर० का प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठक जारी छ।
बैठक सकिएपछि थपिएको निषेधाज्ञामा सार्वजनिक सवारीसाधन तथा अन्य कुन कुन क्षेत्र सञ्चालन गर्ने भन्ने विषयमा विस्तृत जानकारीसहितको आदेश जारी गरिनेछ।
निषेधाज्ञा थप्ने क्रममा क्रमशः यसलाई खुकुलो पनि बनाउँदै लगिएको हो। कोरोना संक्रमण नघटेकाले निषेधाज्ञा अहिले हटाउन नमिल्ने तर अझ खुकुलो बनाइने प्रमुख जिल्ला अधिकारीहरूले बताएका छन्।




















