कोकिला भण्डारी
धनकुटा । स्वदेशमा उत्पादित चिया पिउने गरौँ, स्वस्थ, समृद्ध र आत्मनिर्भर बनौँ भन्ने नाराका साथ धनकुटाको हिलेमा २५ औँ राष्ट्रिय चिया दिवस सम्पन्न भएको छ ।
चियाको समस्या र समाधानका उपायहरुका विषयमा अन्तरक्रिया गर्दै दिवस मनाएको चिया तथा कफि विकास कार्यालय धनकुटाले जनाएको छ ।
धनकुटा नगरपालिका वडा नम्वर १ का अध्यक्ष निरेन तामाङ्गको प्रमुख आतिथ्यता एवंम चिया तथा कफि विकास कार्यालयका कार्यालय प्रमुख विजय कुमार मिश्रको अध्यक्षतामा दिवस सम्पन्न गरिएको कार्यालयका प्राविधिक नविन कोईरालाले जानकारी दिनुभयो ।
एकातिर भौतिक दुरी कायम गर्दै स्वास्थ माप दण्डहरूको पालन गरि कोरोना महामारीबाट बच्नु आवश्य छ भने अर्कातिर महामारीका कारण ध्वस्त भएको मुलुकको अर्थतन्त्रलाई माथि उठाउन चिया विस्तार योजनालाई अगाडी बढाउन महत्वपुर्ण रहेको सहभागिहरुले बताउनु भएको छ ।
उहाँहरुका अनुसार लकडाउनका बीच स्वास्थ्य सम्बन्धी सरकारले तय गरेका मापदण्डहरू पालना गरि बोर्डको अग्रसरतामा चिया बगान र उद्योगहरू सञ्चालनमा आईरहेका छन् । जसले गर्दा अन्य बाली एवं वस्तुको उत्पादन कम हुदा पनि चियाको निर्यातमा वृद्धि भएको छ ।
गत आर्थिक बर्ष २०७६÷७७ मा २ अर्ब ७८ करोड रूपैयाँ बराबरको ११,१८५ मेट्रीक टन चिया निर्यात भएकोमा चालु आ.व. २०७७÷७८ को ९ महिनाको अवधिमै ३ अर्ब ६ करोड रूपैँया बराबरको ९,५७० मेट्रीक टन चिया निर्यात भएको भन्सार विभागको तथ्याङ्ले देखाएको छ ।
आर्थिक बर्ष २०७५÷७६ मा २५,२०५ मेट्रीक टन चिया उत्पादन हुँदा आर्थिक बर्ष २०७६÷७७ मा २४,११८ मेट्रीक टन न चिया उत्पादन भएको चिया तथा कफि विकास बोर्डको तथ्याङ्क छ ।
उत्पादनमा केहि गिरावट आउँदा कोरोना महामारीका बीच पनि चियाको निर्यातमा वृद्धि हुनु चिया तथा विकास बोर्डको उपलब्धी रहेको बोर्डका कार्याकारी निर्देशक डाक्टर विष्णु प्रसाद भट्राईले फोन मार्फत जानकारी दिनुभयो ।
उहाँका अनुसार चिया उत्पादन बाहेकका सबै उत्पादनहरु नेपालले आयात गर्नु परेको अवस्थामा चिया उत्पादन भने आत्म निर्भर भएको छ ।
स्वदेशमा चिया उपभोग गरि बढि भएको उत्पादन भारत लगायतका तेश्रो मुलुकमा निर्यात गरिरहेको अवस्था छ ।
नेपाली चियाको खपत वार्षिक २ सय ग्राम प्रति व्यक्ति भन्दा कम रहेको अनुमान गरिन्छ । छिमेकी मुलुक भारतमै वार्षिक ३ सय ३० ग्राम प्रति व्यक्ति खपत रहेको सन्दर्भमा नेपालमा चिया उपभोग अत्यन्तै न्यून रहेको आँकलन गर्न सकिने कार्याकारी निर्देशक डाक्टर भट्टराईले जानकारी दिनुभयो ।
आन्तरिक खपत वृद्धि गर्न निर्यातका अलावा स्वदेशी बजार विस्तारमा चिया उद्यमी र सरोकारवालाहरूको ध्यान जानु जरुरी रहेको छ ।
उक्त अवसरमा बोर्डले चियाको आन्तरिक बजार प्रवद्र्धनमा रणनीतिक रूपमा अघि बढ्ने २५ औं राष्ट्रिय चिया दिवसले प्रण गरेको छ ।
कार्यक्रममा राष्ट्रिय व्यावसायिक अनुसन्धान कार्यक्रमका प्रमुख हिमाल तिम्सिना, जिल्ला चिया सहकारीका अध्यक्ष ईन्द्र शारु मगर लगायतको उपस्थिति रहेको थियो ।




















