इटहरी – नेपाल कम्युनिष्ट पार्टी सुनसरी आबद्ध सामना सांस्कृतिक परिवारको आयोजनामा सुनसरीको इटहरी उपमहानगरपालिका–६ स्थित म्याजिक स्टेसन अगाडि ‘समाजवादका लागि सामना सांस्कृतिक अभियान’ कार्यक्रम सम्पन्न भएको छ। सांस्कृतिक अभियानमार्फत समाजवाद स्थापनाका लागि गीत, संगीत, नाटक तथा अन्य सांस्कृतिक प्रस्तुतीकरणद्वारा जनचेतना अभिवृद्धि गर्ने उद्देश्य राखिएको सुनसरी सेक्रेटरी जिवन सीले बताए।
कार्यक्रममा नेकपा पार्टीका केन्द्रीय पोलिटब्युरो सदस्य माइला सी , पूर्व खानेपानी मन्त्री तथा नेकपाका नेता मणि थापा, सामना सांस्कृतिक परिवारका प्रमुख आरोह सि, पार्टीको पोलेट ब्युरो सदस्य तथा किरात लिम्बुवान प्रदेशका इन्चार्ज दिपेश सी ,पोलेट ब्युरो सदस्य सुमन सी , नेकपा केन्द्रीय सदस्य त्रिलोचन सी , सुनसरी इन्चार्ज डिबी सी , सुनसरी सेक्रेटरी जिवन सी , केन्द्रीय कलाकार लगायत विभिन्न क्षेत्रका नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा पोलिटब्युरो सदस्य माइला लामाले समाजवाद स्थापना संघर्षशील सांस्कृतिक अभियानबाट सम्भव रहेको बताए। उनले सांस्कृतिक गतिविधि जनजागरणको महत्वपूर्ण माध्यम भएकाले सामना सांस्कृतिक परिवारले राजनीतिक रूपान्तरणका लागि सशक्त भूमिका खेल्ने उल्लेख गरे।
पूर्व मन्त्री तथा नेकपा नेता मणि थापाले सांस्कृतिक अभियानले जनतासँग जोडिने अवसर प्रदान गर्ने बताए। उनले सांस्कृतिक प्रस्तुतिहरू समाजका यथार्थ चित्रण गर्ने माध्यम भएकाले समाजवाद स्थापनाको यात्रामा यस्ता अभियान प्रभावकारी हुने विश्वास व्यक्त गरे।
सामना सांस्कृतिक परिवारका प्रमुख आरोह सिले ‘समाजवादका लागि सामना सांस्कृतिक अभियान’ कार्यक्रममार्फत शोषण, अन्याय, दमन र असमानताविरुद्ध सशक्त सन्देश प्रवाह गर्ने बताए। उनले सांस्कृतिक अभियानमार्फत जनतालाई एकताबद्ध गर्दै क्रान्तिकारी आन्दोलनलाई अगाडि बढाउने लक्ष्य रहेको स्पष्ट पारेका छन ।
कार्यक्रममा विभिन्न गीत, नृत्य, नाटक तथा वक्तव्य प्रस्तुत गरिएका थिए। सामना सांस्कृतिक परिवारका कलाकारहरूले क्रान्तिकारी गीतमार्फत श्रमिक वर्गको संघर्ष, वर्गीय उत्पीडन र समाजवादको आवश्यकता विषयवस्तु प्रस्तुत गरेका थिए ।
कार्यक्रममा सहभागी कलाकारहरूले समाजवाद स्थापनाका लागि सांस्कृतिक आन्दोलनको आवश्यकता औंल्याउँदै निरन्तर सांस्कृतिक गतिविधिहरू सञ्चालन गर्ने प्रतिबद्धता जनाए। उनीहरूले सांस्कृतिक अभियान राजनीतिक आन्दोलनको अभिन्न अंग भएको भन्दै समाजवादका पक्षमा व्यापक जनमत निर्माण गर्नुपर्ने बताए।
सांस्कृतिक अभियानअन्तर्गत विभिन्न जिल्लाहरूमा यस्ता कार्यक्रम गरिने सामना सांस्कृतिक परिवारले जनाएको छ। अभियानले जनताको चेतना स्तर उकास्न भूमिका खेल्ने आयोजकहरूको विश्वास छ। आयोजकका अनुसार सांस्कृतिक अभियानलाई समाजका तल्लो तहसम्म पुर्याएर सामाजिक रूपान्तरण र राजनीतिक परिवर्तनमा योगदान दिने योजना रहेको छ। इटहरीमा भएको ‘समाजवादका लागि सामना सांस्कृतिक अभियानमा सहभागीहरूले समाजवाद स्थापनाका लागि सांस्कृतिक आन्दोलनको आवश्यकता औंल्याउँदै यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका छन्।




















