क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्ट जन्मेको दिनको सम्झनामा आज यस समुदायका मानिसले क्रिसमस डे मनाउँदैछन् ।आजभन्दा दुई हजार २५ वर्षअघि डिसेम्बर २५ तारिखका दिन येशु ख्रीष्टको जन्म इजरायलको वेथलेहेममा भएको थियो । पवित्र आत्माबाट गर्भवती भई कुमारी मरियमबाट जन्मनुभएका येशु ख्रीष्टले तीन मुख्य खुसियाली दिएको नेपाल ख्रिष्टियन महासङ्घका अध्यक्ष सिबी गहतराजले बताए ।उनका अनुसार ख्रीष्टले मुक्ति, प्रेम र शान्ति दिएका छन् भन्ने विश्वासमा क्रिश्चियन समुदायले आजको दिनलाई तीनवटै दिवसका रुपमा मनाउने गरेका छन् । 

विश्वका धेरै मानिसले मनाउने क्रिसमस डे नेपालमा भने विसं २०६३ पछि महासङ्घले महोत्सवका रुपमा मनाउने थालेको हो । दिवसका अवसरमा विसं २०६३ देखि २०७४ सम्म सार्वजनिक बिदा दिइएको थियो । वि .सं २०७८ देखि यस अवसरमा फेरि सबैलाई सार्वजनिक बिदा दिन थालिएको छ । हाल नेपालमा ३५ लाख क्रिश्चियन धर्मावलम्बी रहेको महासङ्घको दाबी छ । १५ हजारभन्दा बढी चर्च बनिसकेको पनि महासङ्घले बताउँदै आएको छ । नेपालमा क्रिश्चियनका १३ वटै सम्प्रदायका चर्च रहेको जनाइएको छ ।महासङ्घ मूल समारोह समितिको आयोजनामा आज दिउँसो क्रिसमस महोत्सव २०८१ आयोजना गरिएको जनाइएको छ । 

पछिल्लो समय मुख्य सहरका प्रमुख स्थलमा क्रिसमस ट्रि सजाउने गरेको देखिन्छ । विशेषगरी क्रिश्चियन समुदायका विदेशी पर्यटकलाई आकर्षित गर्न साजसज्जा गरिएको छ । पर्यटकीय क्षेत्र ठमेल, बौद्ध, पोखरा, सौराहालगायत स्थलमा क्रिसमसको रमझम बढी देखिएको छ । यी स्थानमा येशु ख्रीष्ट जन्मोत्सवका रुपमा क्रिसमस मनाउने तयारी भएको छ ।