सिरहा, सिरहा प्रहरीले कर्जन्हा नगपालिका ११ बाट आज थप दुई सय ९० केजीसहित तीन दिनमा पाँच क्विन्टलबढी प्रतिवन्धित लागुऔषध गाँजा बरामद गरेको छ । विशेष सूचनाको आधारमा प्रहरीले कर्जन्हा नगपालिका ११ स्कूलटोलको झाडीमा लुकाईराखेको अवस्थामा रहेको १९ पोका दुई क्विन्टल ९० केजी गाँजा बरामद गरेको हो । यसअघि गत शुक्रवार दुई क्विन्टल १७ केजी गाँजा बरामद गरेको थियो ।

गोप्य सुचनाको आधारमा प्रहरी चौकी कर्जन्हा र इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरी टोलिले उक्त परिमाणको गाँजासँगै कारोवारमा संलग्न रहेको आशंकामा एक जनालाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख डीएसपी पंज कुमार बाखुले जानकारी दिए ।

डीएसपी बाखुले ठाउँ सार्न तस्करहरुले झाडीमा लुकाएको हुन सक्ने आशंका व्यक्त गरे ।

उनले भने, ‘प्रहरीले ठाउँ एकीन भएको आशंकामा तस्करहरुले सामान सारेको हुन सक्छ । तर प्रहरी आउनसक्ने जानकारी पाएपछि झाडीमै छोडेर भागेको हुनसक्छ ।’

उनले अहिले आशंकाको आधारमा पक्राउ गरिएपनि मुख्य कारोवारीहरुको पहिचान भईरहेकोले उनीहरुलाई पनि चाँडै पक्राउ गर्ने बताए ।

प्रहरीले शुक्रवारका दिन गाँजासँगै ओसार–पोसारमा संलग्न रहेको आशंकामा भारतको विहार राज्य, जिल्ला मधुबनि बलरा थाना १२ नम्वर वडाका २० वर्षिय किसुन मुखिया, मकवानपुर मनहरी गाउँपालिका ९ का ६२ वर्षिय खडक बहादुर तामाङ र स्थानीय ४० वर्षिया चानो देबी मुखियालाई अनुसन्धानको लागि नियन्त्रणमा लिएको छ ।

स्थानीय एक स्रोतका अनुसार यहाँ १० क्विन्टल गाँजा भित्रीयको छ । प्रहरीले शुक्रवार पक्राउपरेकाहरुसँगको अनुसन्धानका आधारमा थप गाँजा र मानिस नियन्त्रणमा लिएको बताइएको छ । प्रहरीले यस सम्वन्धमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।