आज बिहान प्रहरीले लेटाङका सूर्यहाङ लिम्बूलाई नक्कली बाबु बनेर धेरै जनालाई नेपाली नागरिकता दिलाएको आशंकामा अनुसन्धानका लागि  पक्राउ गरिएको मोरङ प्रहरीले जानकारी दिएको छ ।

प्रारम्भिक अनुसन्धानबाट ६१ वर्षीय लिम्बूलाई  मोरङसहित अन्य जिल्लाका व्यक्तिहरुलाई नक्कली नागरिकता बनाइदिएको पत्ता लागेको छ । नक्कली बाबु बनेर उनले कति जनालाई नागरिकता बनाइदिएभन्ने बारेमा खुल्न बाँकी रहेको प्रहरीको भनाइ छ ।

प्रहरीका अनुसार पक्राउ परेका लिम्बू बेलायतका अवकाश प्राप्त सैनिक हुन् । बेलायती सैनिकमा भर्ना गरिदिने आश्वासन दिँदै आफू बाबु बनेर अन्य व्यक्तिहरुलाई नेपाली नागरिकताको प्रमाणपत्र दिलाएको आरोप उनीमाथि लागेको छ ।जिल्ला प्रशासन कार्यालय मोरङको निर्देशनमा उनलाई लेटाङबाटै  पक्राउ गरेर अनुसन्धान एवं कारबाहीको दायरामा ल्याइएको प्रहरी स्रोतले बतायो ।