पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसलाई तर्साउन समाजवादी मोर्चा गठनको चर्चा भइरहेको तर्क गर्नुभएको छ । अध्यक्ष ओलीले शनिबार विभिन्न पार्टीका कार्यकर्ताहरुलाई एमालेमा भित्र्याउँदै गठन हुन लागेको समाजवादी मोर्चाबारे त्यस्तो टिप्पणी गर्नुभएको हो ।
प्रधानममन्त्री पुष्पकमल दाहालले कांग्रेसलाई तर्साउने र एमालेसँग मुकाबला गर्ने उदेश्यले समाजवादी मोर्चाको कार्ड फ्याँकेको बताउनुभयो । ‘गठबन्धन मात्रै नपुगेर अहिले समाजवादी मोर्चा बनाउने अरे’ उहाँले भन्नुभयो – समाजवादी मोर्चा किन बनाउने भन्दा यसका दुई कारण छन् । एक एमालेसँग मुकाबला गर्ने र अर्को कांग्रेसलाई तर्साउने । कांग्रेसलाई समाजवादी मोर्चा बनाऊँ त ? भनेर तर्साउनका लागि मात्रै गठन हुने मोर्चा बनाएर के हुन्छ ?’
एमाले अध्यक्ष ओलीले समाजवादी मोर्चाको आवश्कता र औचित्य नभएको धारणा व्यक्त गर्नुभयो । ‘त्यो बनाएर हुन्छ के ? किन बनाउने त्यो ? तिनै चिनेका मान्छे हुन्, सँगै हिँडेका छन्’ उहाँले भन्नुभयो – लिभिङ टुगेदर त चलेकै छ । तिनीहरूको । अनि मोर्चा के चाहियो ? हामीले उहाँहरूका मोर्चा सोर्चा के बनाउँछन् खास वास्ता राख्नुपर्ने छैन ।’
अध्यक्ष ओलीले ५८ वर्षे राजनीतिमा आफूले सबै नेतालाई राम्रोसँग चिनेको उल्लेख गर्नुभयो । ५८ वर्षे राजनीतिक जीवनमा मैले धेरैसँग संगत गरे, अहिलेका प्राय सबै नेतासँग संगत र सहकार्य गरेँ’ उहाँले भन्नुभयो– उहाँहरुलाई मैले राम्रोसँग चिनेको छु । मोर्चाको नाममा अब उहाँहरुसँग संगत गर्नु आवश्यक छैन । सहकार्य गर्नुको कुनै औचित्य छैन । ५८ वर्षे राजनीतिक जीवनमा मैले कसैप्रति पनि झूठो आरोप लगाएको छैन । यदि कसैलाई कुनै आरोप लगाएको छु भने तथ्यमा आधारित छ । मैले लगाएका हरेक आरोपको जवाफ दिन तयार छु ।




















